
उर्लाबारी / मोरङको उर्लाबारी – ३ मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा आईसियु सेवा सुरु भएको छ ।
अब केही दिनमै एनआईसियु सेवा पनि सुरु गर्ने अस्पतालको तयारी रहेको छ।
सो अस्पतालमै आईसियु सेवा सुरु भएपछि गम्भीर बिरामीहरूको उपचार र निगरानीमा सुधार हुनेछ ।यसले विरामीहरूको स्वास्थ्य अवस्था सुधार्न मद्दत पुर्याउनेछ ।
हाललाई ५ बेडको आईसियु सेवा सुरु भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रवि कुमार शाहले बताए ।
आईसियु सेवा सुरु भएपछि आपतकालीन अवस्थामा तुरुन्त उपचार र ध्यान दिने अवसर प्रदान गर्नेछ । यसले दुर्घटनाग्रस्त, हृदयाघात, स्ट्रोक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरूलाई तुरुन्त उपचार पाउन मद्दत गर्नेछ ।
आईसियु विशेष चिकित्सा उपकरण र दक्ष स्वास्थ्यकर्मीहरूको टोली रहने भएकाले, गम्भीर बिरामीहरूको अत्याधुनिक निगरानी र उपचार हुनेछ।
अस्पतालले यसअघि गत पुषदेखी कोशी प्रदेशमै अत्याधुनिक सिटी स्क्यान सेवा सुरु गरेको थियो । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सो अस्पताल कोशी प्रदेश सरकारले सञ्चालन गरेको सबैभन्दा ठूलो अस्पताल हो । सो अस्पतालको भौतिक विकासको लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको मोरङ क्षेत्र नम्बर १(१) का प्रदेश सभा सांसद उमाकान्त गौतमले जानकारी दिए ।
बहुवर्षीय योजना अन्तर्गत सुविधासम्पन्न भवन ठेक्का लागेर निर्माण प्रक्रिया सुरु हुन लागेको र वैशाखसम्ममा भवनको शिलान्यास गर्ने तयारी रहेको छ ।
वि.सं. २०४९ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पतालले राज्य पुर्नस्थापना पश्चात विकासको गतिमा फड्को मार्दैै आएको छ । देशको संघिय व्यवस्था अनुरुप वि.सं. २०७२ सालबाट स्थानिय सरकार मातहत संचालन भई स्तरोन्नती सहित १५ शय्याको अस्पतालको रुपमा परिणत भयो ।
अस्पताललाई वि.सं. २०७७ सालबाट कोशी प्रदेश सरकारले ट्रमा सेन्टरका विकास गर्ने र आकस्मिक सेवा प्रदान गर्ने लक्ष्यका साथ थप ३५ शय्या थपेर ५० शय्याको प्रदेश स्तरको ट्रमा सेन्टरका रुपमा विकास गर्दै लगेको छ । ट्रमा सेन्टरका रुपमा विकास भएसगै अस्पतालले आधुनिक उपकरण, आधुनिक प्रविधिको प्रयोग र विशेषज्ञ डाक्टरहरुको सेवा विस्तार गरे सगै हरेक वर्ष औसतमा करिब १ लाख १० हजार भन्दा बढी सेवाग्राहीले अस्पतालबाट लाभ लिने गरेका छन् । अस्पतालले अति विपन्न विरामीहरुलाई नि:शुल्क उपचार समेत गराउँदै आएको छ ।