
उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन भएपछि उर्लाबारीका दलहरुबीच सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति भयो । विधि र प्रक्रिया मिचेर निर्वाचन समितिले सर्वसम्मत चयन गर्ने र विद्यार्थीहरुको विद्यार्थीहरुको अधिकार कुण्डित गर्ने काम भएको भन्दै चौतर्फी आलोचना हुन पुग्यो ।
अन्तिम नामावली प्रकाशन भएपछि चुनाबी मैदानमा होमिएका उम्मेद्वारहरुलाई सहमति भएको भन्दै उम्मेद्वारी फिर्ताका लागि हस्ताक्षर गराएको थियो । दबाब सिर्जना गरी उम्मेद्वारी फिर्तामा हस्तारक्षर गरेको भन्दै अखिल (क्रान्तिकारी) उर्लाबारी बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष तथा सभापति पदमा उम्मेद्वार उर्गेन घिसिङ तामाङले विरोध जनाएका थिए । मोरङ जिल्ला अदालतका एक अधिवक्ताका अनुसार, निर्वाचन प्रक्रिया निर्धारित विधिअनुसार सम्पन्न नभएको खण्डमा कानुनी चुनौती आउन सक्नेछ । ‘यदि कागजातअनुसार एकथरी प्रक्रिया तय गरिएको हो तर व्यवहारमा फरक ढंगले निर्वाचन हुने भयो भने, अदालतले सो निर्णय खारेज गर्न सक्छ । सर्वसम्मतको लानि पुनः निर्वाचन तालिका बनाई सोहिअनुसार प्रकृया पुरा गर्नुपर्ने देखिन्छ ।’ ती अधिवक्ताको भनाई छ ।
विधि र प्रक्रिया मिचेर सर्वसम्मत बनाउने काम भएको र सहमतिका नाममा १ हजार १६ जना विद्यार्थीहरुको अधिकार कुण्डित गर्ने काम भएको भएको भन्दै अखिल (क्रान्तिकारी) उर्लाबारी बहुमुखी क्याम्पस कमिटी विज्ञप्ति नै सार्वजनिक गरेर विरोध जनाएको छ । मंगलबार क्याम्पस कमिटीका अध्यक्ष उर्गेन घिसिङ तामाङले विज्ञप्ति जारी गर्दै सहमति जुटाउन तथा उम्मेदवारी फिर्ता गर्न दबाब सिर्जना गरी हस्ताक्षर गर्न लगाएको जानकारी गराउँदै पार्टीको उक्त निर्णय अखिल (क्रान्तिकारी) उर्लाबारी बहुमुखी क्याम्पस कमिटीलाई स्वीकार नभएको हुँदा स्ववियुमा अखिल (क्रान्तिकारी) को प्रतिनिधित्व गर्ने प्रस्तावित कोषाध्यक्ष र सदस्यमा भाग नलिने जनाएका छन् । अखिल (क्रान्तिकारी) ले विज्ञप्ति मार्फत निर्वाचन समितिको ध्यानाकर्षण समेत गराएको छ । निर्वाचन समिति गठन गरी उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरी मतदानको प्रक्रिया अघि बढेको अवस्थामा दलको सहमतिको नाममा विद्यार्थीको मतदान अधिकारलाई कुन्ठित गर्ने काम भएको अखिल (क्रान्तिकारी) को ठहर रहेको छ ।