
दमक । झापाको दमक नगरपालिका वडा नम्बर ३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्स संचालन कहिले हुने र कसले गर्ने भन्नेमा अन्योलता देखिएको छ ।
सो कम्प्लेक्सको निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताईएतापनि हालसम्म समेत संचालन हुन सकेको छैन । मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा रहेको उक्त १८ तले कम्प्लेक्स १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनाइएको हो ।
चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सको उद्घाटन गत मंसिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सो टावर परिसरलाई पैदल मार्ग प्रवेश प्लाजा, टावर, मनोरञ्जनात्मक बगैंचा, बालबालिका खेल क्षेत्र र वनस्पति बगैचामा छुट्टयाइएको छ । यस्तै, सो कम्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, र कर्पोरेट कार्यक्रम एकै स्थानमा समायोजन गर्ने गरी डिजाइन गरिएको छ । एकदमै आकर्षक रहेको सो स्थानमा फुर्सदमा आन्तरिक पर्यटकहरु अवलोकन गर्न आउने, फोटो भिडियो र टिकटक बनाउने गरेको पाईएको छ ।