
उर्लाबारी । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएपछि उर्लाबारीका राजनीतिक दलका नेताहरूले सहमतिमा सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरे । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन फागुन २९ गते दिनको ५ः३० बजेसम्म थियो । तर, चैत्र २ गते मात्रै दलहरुबीच सर्वसम्मत नेतृत्व चयन गर्न सहमत भए ।
अन्तिम नामावली प्रकाशन भइसकेपछि निर्वाचन होमिनु पर्ने स्थितिमा दलहरुकै दबाबमा दबाब उम्मेद्वारी फिर्तामा हस्ताक्षर गराएको पाइएको छ । अखिल (क्रान्तिकारी) बाट सभापतिको उम्मेद्वार बनेका उर्गेन तामाङ घिसिङले दबाबमा उम्मेद्वारी फिर्ता गराएको आशय ब्यक्त गरेका छन् । सामाजिक सञ्जालको एक कमेन्टमा उनले लेखेका छन्,‘वास्तविकता व्यवहारिक दृष्टिकोणबाट हेर्नुपर्दछ । प्रक्रियागत कुराको आधारहरुलाई आधार मानेर कसैको नैतिकता र नियत खराब या असल हुदैन । प्रक्रियागत रुपमा गरिएको हस्ताक्षर दबाबबाट आएको हुनसक्छन् भन्ने बुझ्नु पर्दछ । तर वास्तविकतालाई आत्मसाथ गर्दै सम्पूर्ण विद्यार्थीहरुको हक अधिकार खोस्ने कुरा भएको छ । यसको म सधै विरोध गर्दछु । मैले यस्तो गरे उस्तो गरे भन्दापनि मेरो नियत राम्रो छ या छैन भन्ने कुरा महत्वपूर्ण हो । मौका कहिले मिल्छ भनेर कुरेर बस्नु अनुचित हो ।’
तामाङ उर्लाबारी बहुमुखी क्याम्पसमा लोकप्रिय विद्यार्थीमध्ये पर्छन् । विद्यार्थीहरुको हकहितमा अग्रमोर्चामा रहेर काम गर्दै आएका तामाङ अखिल (क्रान्तिकारी) उर्लाबारी बहुमुखी क्याम्पसका अध्यक्ष हुन् । उनीमात्र होइन इन्चार्ज दिपेन्द्रबहादुर बराईली, पूर्व नगरअध्यक्ष अनिल अधिकारीलगायतले पनि नेताहरुको हस्तक्षेप विरुद्ध आक्रोश पोखेका छन् । विधि र प्रक्रिया मिच्ने काम भएको भन्दै उनीहरुले विरोध गरेका छन् । ‘निर्वाचनमा हारजित स्वभाविक हो’ एक विद्यार्थी नेता भन्छन्–‘अन्तिम नामावली प्रकाशन भएपछि चुनाबमा जानु पर्ने हो की सहमति भयो भन्ने हो, विद्यार्थीहरुको हित भन्दा पनि दलको स्वार्थमा कुरा मिल्यो ।’