
उर्लाबारी । मोरङको उर्लाबारीमा तीन वटा सवारी ठोक्किएर दुर्घटना भएको छ ।
शनिबार दिउँसो पूर्वपश्चिम राजमार्गको उर्लाबारी खण्डमा सुमो र दुई वटा यात्रुबहाक बस एकै स्थानमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी १३ जना घाइते भएका छन् । घाइते मध्ये ११ जना घाइते सुमोका यात्रु हुन् । २ जना सगरमाथा यातायातको बसमा सवार यात्रु हुन् ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ झ २७४९ को सुमो गाडी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१–ख ४४५६ नम्बरको सगरमाथा यातायातको बससँग ठोक्किएको थियो । सगरमाथा यातायातसँग ठोक्किएको सुमो अनियन्त्रित हुँदै पूर्वतर्फ जाँदै गरेको मे १ ख २५४६ नम्बरको नागरिक यातायातको बससँग पनि ठोक्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुर्घटनामा सुमोमा सवार ११ जना र सगरमाथा यातायातमा सवार २ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर ३ सहित पाँच जनालाई उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड झापा पठाइएको छ । ८ जनाको उर्लाबारीमै उपचार भइरहेको छ ।