उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१ मा ३ करोड बराबरको कारोबार भएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा फागुन १५ गतेदेखि सुरु महोत्सव सोमबार सम्पन्न भएको हो । महोत्सवमा २ लाख भन्दा बढीले अवलोकन गरेको र ३ करोड भन्दा बढी कारोबार भएको आयोजकले दाबी गरेको छ । समापन कार्यक्रममा बोल्दै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले कृषि र औद्योगिक क्षेत्रको विकासमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । महोत्सव कृषि, उद्योग र पर्यटन क्षेत्रका पहिचान र सम्भावनाहरूको उत्सव रहेको बताउँदै उहाँले यी क्षेत्रहरू हाम्रो देशको आर्थिक र सामाजिक समृद्धिका लागि मेरुदण्ड रहेको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेलले महोत्सवबाट उर्लाबारीको आर्थिक चलायमान बनाउन सहयोग पुगेको बताउनुभयो । सो अवसरमा उर्लाबारी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोवर्धन शाक्य, नेकपा एमालेका नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाले बोल्नुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक तारामान सिरेङ लिम्बूले महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । अध्यक्ष लिम्बूले संघले यस वर्ष महोत्सवको आम्दानी व्यवसायिक सुरक्षामा खर्चिने बताउनुभयो । स्थानीय व्यावसायीहरूको सुरक्षाको सुनिश्चितता गर्दै आगो निभाउने उपकरण रिफिल गर्ने मेसिन खरिद गरिने र बजार सौन्दर्यीकरणमा खर्च गरिने उहाँको भनाई छ । संघका बरिष्ठ उपाध्यक्ष ज्ञानकुमार श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिब सम्झना खतिवडा र पूर्व महासचिब हेमराज गुरुङले गर्नुभएको थियो । महोत्सवमा अटोमोबाइल स्टल, दैनिक उपभोग्य वस्तु र सेवाहरू, हस्तकलाका उत्पादनहरू, साना तथा घरेलु उत्पादनहरू, गार्मेन्ट, शैक्षिक तथा वित्तीय संस्थाहरू, होटल र रेष्टुरेन्ट, अटोमोबाइल, फुटवेयर, निर्माण सामग्री, इलेक्ट्रोनिक्स, फर्निचर र फर्निसिङ सामग्रीहरू, जडिबुटी र औषधीजन्य वस्तुहरू, सांस्कृतिक प्रदर्शनी र बाल उद्यान तथा मनोरञ्जनात्मक खेल तमासाहरु राखिएको थियो भने दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय