
उर्लाबारी । आरएमडी अचार । पूर्व क्षेत्रमा लोकप्रिय ब्राण्ड हो यो । यहाँका धेरै ग्राहकहरू यो अचारसँग परिचित छन् । यसका सम्झनेहरू नियमित उपभोक्ताको प्रतिक्रिया हुन्छ– अचार भन्ने बित्तिकै ‘आरएमडी’कै सम्झन्छौं ।
मोरङका उर्लाबारी–७ का पूराना होटल ब्यवसायी मनोहरि दाहाल आरएमडी लघु उद्योगमार्फत २१ प्रकारका अचार उत्पादन गरिरहनुभएको छ । तीन दशकदेखि होटल ब्यवसाय गरिरहनुभएका दाहालले विगत ६ बर्षदेखि अचार उत्पादन कार्यमा सरिक हुँदै आउनुभएको छ । अहिले कोशी प्रदेशभरि आफ्नो उत्पादन विक्री वितरण गर्दै आउनुभएको छ । कोशी प्रदेशका १ सय २२ वटा ठूला डिपार्टमेन्ट स्टोर र मार्टहरूमा आरएमडी अचार विक्री वितरण हुँदै आएको सञ्चालक दाहालले जानकारी दिनुभयो । उहाँको उद्योगबाट अकबरे दाना, अकबरे तामा, अकबरे टिमुर, कागती, लप्सी, तामा, मेथी, मिक्स, आँप, अदुवा, लसुन, सिम्ला, च्याउ, मासु, गाजर, चुकन्दरलगायतको अचार बन्छ । अचार परिमाणअनुसार डेढ सयदेखि ६ सय रुपैयाँसम्म बट्टामा विक्री वितरण भइरहेको उहाँले जानकारी दिनुभयो । अचार माग उच्च भएपछि दाहाल अहिले यो पेसामा सन्तुष्ट हुनुहुन्छ । उहाँका अनुसार अचार बेचेर मनग्गे आम्दानी गर्न सकिन्छ । आरएमडी अचार अहिले पोखरा, काठमाडौंजस्ता ठूला शहरमा पनि माग उच्च छ । त्यतिमात्र होइन, विदेशका विभिन्न स्थानमा समेत उच्च माग हुने गरेको छ यो अचारको । खासगरी कोसेलीको रुपमा प्रयोग हुँदै आएका उहाँको अचारले सबैको मन लोभ्याउने गरेको छ । पूर्वी नेपालका विभिन्न शहरमा आयोजना हुने साना ठूला सबै कृषि, उद्योग तथा व्यापार मेला महोत्सवमा उहाँको अचार अनिवार्यजस्तै बनेको छ । उहाँले स्वदेशी अचार उत्पादनमा सरकारले प्रोत्साहन गर्नु पर्नेमा जोड दिनुभयो । ‘मेहेनत र सीपलाई सबै क्षेत्रमा लागू गर्नसके भारतबाट आउने लाखौंको अचार रोकिने छ,’ दाहालले भन्नुभयो ।