
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक विभाजनका लागि दुवै पक्षले केन्द्रीय कमिटीको अलग–अलग बैठक बोलाएका छन् ।
काठमाडौंमा आज बस्न लागेका बैठकहरूले नेकपालाई विभाजनको औपचारिकता दिने नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले बैठक बोलाएका हुन् ।नेकपाका उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने अन्तिम बेलासम्म पनि कतै खुलेका छैनन् ।
गौतमले आज ओली र प्रचण्ड–नेपाल समूह दुवैले आयोजना गरेका बैठकमा सहभागी नहुने जनाएका छन् । पार्टी विभाजन भइसकेपछि गौतम र थापालाई एकातिर लाग्नैपर्ने बाध्यतामा उनी छन् । पूर्व माओवादी समूहमा थापा समूह बिभाजित छ । देव गुरुङ, पम्फा भुसाल लगायतका नेता थापा निकट भए पनि उनीहरू प्रचण्डसँग छन् । गृहमन्त्री थापा भने दुवै पक्षका भेला र बैठकमा सहभागी भएका छैनन् ।
उपाध्यक्ष गौतमसँग पनि सांसद र केन्द्रीय सदस्यहरू छन् । गौतम आफू नगए पनि आफू निकटका नेताहरूलाई कुन बैठकमा पठाउँछन् भन्नेबारेमा केही भनिएको छैन ।