
उर्लाबारी । पथरीशनिश्चरे–५ मा सोमबार बिहान विवाहित महिला पुरुष एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारी स्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा विवाहित जोडी मृत फेला परेको प्रहरीले जनाएको छ । पथरीशनिश्चरे–५ का २१ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
दुवै जना विवाहित रहेको रहेको बुझिएको छ । घाँटीमा नाइलनको एउटै डोरीको पासो लगाएर रुखको हाँगोमा झुन्डिएको अवस्थामा बिहान १० बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ । मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ ।
मृत फेला परेकामध्ये अजयको घरमा पत्नी तथा ४ र २ वर्षका २ जना छोरा रहेको छन् । जुबामुनीका डेढ वर्षका छोरा रहेको बुझिएको छ । अयजले जुबामुनीलाई गत आइतबार राति आफ्नै घरमा लिएर आएको पत्ता लागेको छ ।
अजयको घरमा खाना खाएर राति नै उनी निस्किएको पाइएको प्रहरीले जनाको छ । सम्पर्क र आउजाउको अवस्था हेर्दा दुवै जना प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रेम सम्बन्धमा समस्या उत्पन्न हुनसक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । ‘घटनास्थलको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले सहमतिमै आत्महत्या गरेजस्तो देखिन्छ । तर, थप कुरा यकिन भइसकेको छैन । थप कुरा अनुसन्धानपछि मात्रै खुल्छ,’ प्रहरी स्रोतले भन्यो ।