
उर्लाबारी । स्ववियु निर्वाचनको माहोल देशभर तातेका बेला मोरङको पथरी बहुमुखी क्याम्पसमा भने असहज स्थिति सिर्जना भएको छ ।
चैत्र ५ गतेका लागि तय गरिएको स्ववियु निर्वाचनको तयारीस्वरूप विभिन्न कलेजहरूमा आज संगठन दर्ता भएको थियो । तर, पथरी बहुमुखी क्याम्पसमा संगठन दर्ताकै क्रममा नेविसंघ केन्द्रीय सदस्य सुबिन पराजुली र सोही क्याम्पसका विद्यार्थी नेविसंघ मोरङ जिल्ला सदस्य सोमनाथ फुयलबीच घम्साघम्सी भएको छ । पराजुलीले म केन्द्रिय सदस्य हुँ, तिमीलाई कारबाही गर्न सक्छु भन्दै धम्की दिएपछि फुयल आक्रोशित बनेका थिए । उनीहरूबीच भनाभन हुँदै स्थिति हात हालाहालसम्म पुगेको देखिएको छ । घटनाको सिसिटिभी फुटेजमा दुवै पक्षबीचको घम्साघम्सी स्पष्ट देख्न सकिन्छ । फुयल पथरी बहुमुखी क्याम्पस स्ववियुका सदस्यसमेत हुन् । यो घटनाले निर्वाचनपूर्वको माहोललाई अझ तनावपूर्ण बनाएको छ । यस बारेमा पराजुली र फुयलसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।