उर्लाबारी । पछिल्लो समय मोरङको उर्लाबारीमा सुरक्षा चुनौति देखिएको छ । एकपछि अर्को चोरीका घटनाहरु वृद्धि भएसँगै सुरक्षा चुनौति बढेको हो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीको १ सय ५० मिटर उर्लाबारी–५ चौकमा रहेको मोबाइल वल्र्डमा करिब ३ करोड बराबरको मोबाइल चोरी भएको १ महिनापछि फेरि अर्को सुन पसलमा चोरी भएको छ । उर्लाबारी नगरपालिका वडा नं. ४ आइतबारे चोकस्थित न्यू पाथीभरा ज्वेलर्समा ठूलो चोरी भएको छ । सुन पसलको पछाडिको पर्खाल नै फोरेर चोरी भएको छ । १ करोड भन्दा बढीको सुन र चाँदी चोरी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । १७ वर्षदेखि सञ्चालनमा रहेको न्यू पाथिभरा ज्वेलर्सका सञ्चालक रमेश गजमेर बराइली बिहान ८ बजे पसल खोल्न जाँदा पछाडिको भित्ता भत्काइएको देखेपछि चोरी भएको थाहा पाएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय उर्लाबारीलाई सो बारेमा जानकारी गराइएको थियो । चोरीको खबर पाएपछि प्रहरी घटनास्थलमा मुचुल्का बनाएर चोरी घटनाको अनुसन्धानमा खटिएको छ । करिब २० तोला सुन, ६० केजी हाराहारीमा चाँदी र नगद करिब १५ हजार रुपैयाँ चोरी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पसलका सञ्चालक बराइलीका अनुसार चोरहरूले प्रमाण नष्ट गर्न सीसीटीभीको डिभाइस समेत लिएर गएका छन् । उर्लाबारीमा पछिल्लो समय लगातार सुन पसल, घर तथा मोबाइल पसलमा चोरीका घटनाहरू बढ्दै गएका छन् । उर्लाबारीमा पछिल्लो समय सुरक्षा चुनौति बढेको भन्दै स्थानीय व्यवसायीहरुले शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय