उर्लाबारी । मोरङको उर्लाबारीमा आजदेखि उर्लाबारी कृषि औद्योगिक तथा पर्यटन महोत्सव २०८१ को सुरु भएको छ ।
उर्लाबारी उद्योग बाणिज्य संघको आयोजनामा उर्लाबारी–४ आइतबारे स्थित उर्लाबारी नगरपालिका दक्षिण क्षेत्रमा सो महोत्सव सुरु भएको हो । महोत्सवको कोशी प्रदेशसभाका सदस्य उमाकान्त गौतमले उद्घाटन गर्नुभयो । प्रमुख अतिथिसमेत रहनुभएका गौतमले प्रचुर सम्भावनाहरूलाई पहिल्याएर आर्थिक विकास र समाज परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताउनुभयो ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल,उपप्रमुख मीना खतिवडा, नेपाल उद्योग वाणिज्य महासंघ कोशी अध्यक्ष राजेन्द्र राउत, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइली, मेला समितिका केन्द्रीय उपसभापति उमेश डाल्मिया,नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बूलगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो । संघका अध्यक्ष तारामान सिरेङको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन महासचिब सम्झना खतिवडा र पूर्वमहासचिब हेमराज गुरुङले गर्नुभएको थियो । महोत्सवमा औद्योगिक, कृषि, अट्टोमोवाइल्स, घरेलु उत्पादनका १ सय ३५ वटा स्टल रहेका छन् ।

उर्लाबारीको सौन्दर्यकरणसँगै आगो निभाउने रिफिल ब्यवस्थापनका लागि खर्च ब्यवस्थापन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सव तीन लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । १५ करोडको ब्यापार हुने र २० लाख आम्दानी गर्ने लक्ष्य राखिएको बरिष्ठ उपाध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिनुभयो । दिउँसो निःशुल्क र साँझ १ सय ५० रुपैयाँ शुल्क तोकिएको छ । साँझ दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सवमा चर्खे पिङ (काठे पिङ) आकर्षक देखिएको छ । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले आयोजना गरिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्ला, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल रहेका छन् । महोतसवमा उर्लाबारी नगरपालिका संरक्षक रहेको छ भने आइजोन इन्टरनेट मुख्य प्रायोजक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय