उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन १५ देखि २५ गतेसम्म सञ्चालन हुने उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ। महोत्सव सफल बनाउन संघले उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मीना खतिवडा पौडेलसँग छलफल गरेको छ।
संघका अध्यक्ष तथा महोत्सव आयोजक मूल समितिका अध्यक्ष तारामान सिरेङ लिम्बू, महोत्सव कार्यसम्पादन समिति संयोजक चन्द्रबहादुर भट्टराई (भरत), पूर्वअध्यक्ष तेजकुमार रिजाल, शेरबहादुर भण्डारीलगायतको टोलीले नगर प्रमुख र उपप्रमुखसँग महोत्सवको संरक्षकत्वका विषयमा आज छलफल गर्दै महोत्सव सफल पार्न आवश्यक पहल गरेका छन्। साथै, फागुन १५ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा हुने उद्घाटन कार्यक्रममा निमन्त्रणा गरिएको छ।
नगर प्रमुख खरेल र उपप्रमुख पौडेलले महोत्सवले उर्लाबारीको व्यापार व्यवसायलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्। संघका अध्यक्ष लिम्बूका अनुसार महोत्सवमा १५३ वटा स्टल रहने छन्।
उक्त महोत्सवले कृषि, उद्योग र पर्यटन क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय