झापा । झापामा एकपछि अर्को अपराधिक घटना घटिरहेका छन् । आइतबार बिहान बिर्तामोड २ चैतुबारीकी ४२ बर्षीया दिनो राजवंशी हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।
शनिबार बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना पुर्याउन उनी घरबाट हिँडेकी थिइन् । कुखुरा फार्ममा काम गरिरहेका बीरबहादुर राजवंशी राति अबेरसम्म खाना घरबाट नआएपछि घरमा फोन गरेका थिए । घरबाट आमाले अघि खाना लिएर हिँडेको बताएपछि मध्यरातसम्म दिनोको खोजी कार्य भएको थियो । तर, दिनो कतै भेटिनन् । ‘मध्यरातसम्म आमाको खोजी गर्दा पनि कतै भेटिनु भएन’ छोरा विशाल राजवंशीले भने । विहान उठ्नसाथ आमाको खोजी गर्ने क्रममा घरबाट करिब ५ सय मिटर पश्चिम खेतमा हत्या गरिएको अवस्थामा शव भेटेको उनले बताए । अनुहारमा चोट लागेको अवस्थामा उनले शव भेटेको उनको भनाई छ । उनले घटनाको छानविन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्न माग गरेका छन् ।
संघीय प्रहरी इकाई कार्यालय धरानबाट मगाइएको शिकारी कुकुरबाट सो घटनाको अनुसन्धान गरिएको छ । धरानबाट मगाइएको लैला कुकुरबाट अनुसन्धान गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताएका छन् । उनले भने थप बताउन मिल्दैन, अनुसन्धान भइरहेको छ । घटनापछि गाउँमा त्रास सिर्जना भएको भन्दै स्थानीयले शान्ति सुरक्षाको प्रबन्धको माग गरेका छन् । उक्त स्थानमा फ्याक्ट्रीहरु भएकाले बाहिरका मान्छेको जमघट गर्ने, मादकपदार्थ सेवन गर्ने जस्ता कार्य हुँदै आएको स्थानीयले बताएका छन् । उनीहरुले प्रहरीले गस्ती बढाएर गाउँमा सुरक्षाको प्रत्याभूति दिनु पर्ने उनीहरुले बताएका छन् । त्यस्तै, विर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष नगेन्द्र प्रसाद संग्रौलाले घटना रहस्यमय भएको बताउँदै घटनाको सत्यतथ्य प्रहरी प्रशासनले बाहिर ल्याउनु पर्ने बताएका छन् ।
यस अघि झापाको मेचीनगरपालिकाको चारआली, कमल गाउँपालिका र गौरादहमा पनि महिलाको बीभत्स हत्या भएको थियो । बिगत केही समय यता देखि झापामा यस्तै किसिमका हत्याका घटना घट्दै आएको पाइएको छ ।
ADVERTISEMENT