उर्लाबारी, मोरङको उर्लाबारी नगरपालिकाले विकास निर्माणका कार्यलाई तीब्र रुपमा अघि बढाएको छ । योजनाहरु समयमै सम्झौता गर्ने र समयमै सम्पन्न गर्ने योजना अनुरुप कार्य अघि बढाइएको छ ।
भौतिक पूर्वाधार निर्माण अन्तर्गत चालु आर्थिक वर्षमा उर्लाबारीमा १९ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । यस्तै, विभिन्न वडामा तीन किलोमिटरभन्दा बढी सडकमा पेविङ ब्लक लगाइने भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न हुने गरी वल्र्ड बैंकको लगानीमा उर्लाबारी–३ को कृष्णचौकदेखि वडा नं. २ को सुन्झोडा सामुदायिक वनसम्म ५.२ किमि सडक कालोपत्रे हुँदैछ । यस्तै, संघीय समपूरक अनुदान अन्तर्गत उर्लाबारी–९ को वडा कार्यालय हुँदै रतुवामाई जोड्ने लामा टोल सडक २ किमि ८९१ मिटर कालोपत्रे र प्रदेश समपूरक अनुदान अन्तर्गत वडा नं. १ फट्टेटोल, कार्की चौक मिक्लाजुङ मार्ग सडक १ किमि ६१४ मिटर कालोपत्रेका लागि सम्झौता भई कार्य सुरु भइसकेको छ । यी दुवै योजनामा नगरपालिकाको ५० प्रतिशत लगानी रहेको छ ।
नगरस्तरीय योजना अन्तर्गत वडा नं. ८ शिवमार्ग सडक १ किमि १३० मिटर, खानेपानी मार्ग ४६४ मिटर, वडा नं. २ केर्खालीचौक–वडा कार्यालय, इलाका प्रशासन जाने सडक र वडा नं. ३ रामनगर चन्दने सडक ७७६ मिटर, वडा नं. ७ वडा कार्यालयदेखि आम्बारी रोड जोड्ने सडक १३९ मिटर, वडा नं. ५ तरुण चौक, लखनमार्ग, डिवि मार्ग २९६ मिटर, जोरबाटो–रानाटोल, आम्बाडी, डाँडाटोल सडक ६१५ मिटर कालोपत्रेका लागि ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको छ ।
नगरपालिकाले पुराना, बिग्रिएका कालोपत्रेमध्ये २ किमि २१३ मिटर पुनः कालोपत्रे गर्ने भएको छ । वडा नं. ३ सिमसार जानेबाटो, थापा चौक उत्तर र केर्खाली चौक जाने बाटो, वडा नं. ५ र ६ का विभिन्न भित्री सडकहरु मर्मतका लागि ठेक्का लागिसकेको छ ।
यसै आर्थिक वर्षमा नगरपालिकाले विभिन्न वडाका जीर्ण कालोपत्रेमध्ये थप ३ किलोमिटर कालोपत्रे गर्ने तयारी गरेको नगर प्रमुख गंगाप्रसाद खरेलले बताए ।
यस्तै, नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लगानीमा सडक कालोपत्रे गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
यो कार्यक्रम अन्तर्गत उर्लाबारी–५ को बिहानी मार्गमा ६ सय मिटर, वडा नं. ४ को आदर्र्श–स्कुलडाँडा मार्गमा १५१ मिटर, सिद्धकाली मार्गमा ७८ मिटर, वडा नं. ६ को गौरी मार्गमा कालोपत्रे गर्ने तयारी गरिएको छ ।
सम्पूर्ण कालोपत्रे आसपाल्ट प्रविधिबाट गुणस्तरीय हुने नगर उपप्रमुख मीना खतिवडा पौडेलले बताइन् । कालोपत्रेसँगै नगरका भित्री बाटाहरुमा पेविङ ब्लक विच्छ्याउने योजना अनुसार विभिन्न वडामा कार्य अघि बढाइएको छ । यस वर्ष ३ किलोमिटरभन्दा बढी सडकमा पेविङ ब्लक विच्छ्याइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय