
विराटनगर । फागुन १२ गते सोमबारबाट नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले ‘जनतासँग माओवादी,तराई–मधेश जनजनगरण अभियान’ सुरु गर्ने भएको छ । पार्टीलाई २०६४ सालकै हैसियतमा फर्काउने लक्ष्यसहित माओवादी केन्द्रले अभियान सुरु गर्ने भएको हो ।
हुलाकी राजमार्ग केन्द्रीत अभियान १२ गते झापाको कचनकबलबाट सुरु भई कञ्चनपुरमा पुगेर समापन हुनेछ । हुलाकी राजमार्गले छुने कोशी प्रदेशका तीन जिल्ला (झापा, मोरङ र सुनसरी) मा आयोजना हुने कार्यक्रममा अध्यक्ष प्रचण्डसहित पार्टीका पदाधिकारी सहभागी हुनेछन् ।
सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) का अनुसार फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट अभियानको उद्घाटन हुनेछ । बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट हुनेछ ।
फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभा हुनेछ । फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभा हुनेछ ।
फागुन महिनाभरी हुलाकी राजमार्ग केन्द्रीत प्रदेशस्तरीय अभियान सञ्चालन गर्ने उनले बताए ।