
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डका दोषीहरूलाई अदालतबाट दिइएको फैसलामा असन्तुष्टि व्यक्त गरेका छन् ।
कैलालीको टीकापुर घटनामा मूख्य दोषी ठहर भएका सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जिल्ला अदालत कैलालीले सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरेको थियो ।
डा.भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकलम दाहाललाई संकेत गर्दै यस्तो फैसला आउनु अन्यायपूर्ण भएको बताएका छन् ।
‘यथास्थितिको रक्षार्थ कानून र अदालत बन्छन् । अतः उत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन’, ट्विटमा डा.भट्टराईले भनेका छन, ‘विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो । यो अन्याय सैह्य छैन । थारू नायकहरूलाई सलाम ।’
विक्रम संवत २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहटको माग गर्दै निकालिएको जुलुसमा एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात प्रहरी र एक नाबालकको सामूहिक हत्या भएको थियो ।
घटनामा उच्च अदालत दिपायलले रेशमलाल र लक्ष्मणलाई मुख्य दोषी ठहर गर्ने जिल्ला अदालत कैलालीकै निर्णय सदर गरेको छ ।