![](https://www.purbicommand.com/wp-content/uploads/2025/02/1730109706668-2048x922-1.jpg)
उदयपुर । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पूर्णरुपमा बन्द भएको छ । गत मंसिर १९ गतेदेखि उद्योग पूर्ण बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले जानकारी दिए ।
साहका अनुसार उद्योगसँग कच्चापदार्थ खरिद गर्ने पैसा नहुँदा उद्योग बन्द गर्नु परेको हो । उनले भने, ‘उद्योगले भुक्तानी गर्नुपर्ने दायित्व झन्डै डेढ अर्ब रुपैयाँ पुगेको र कच्चापदार्थ खरिदमा समस्या हुँदा उद्योग बन्द भएको हो ।’
उद्योगको सम्पूर्ण बैंक खाता समेत रोक्का भएको छ । रौता सर्भिसेज प्रालिले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको रिटका कारण उद्योगका बैंक खाता रोक्का भएको हो । जिल्ला अदालतमा परेको रिटमा सुनुवाइ गर्दै ७ माघमा उदयपुर सिमेन्ट उद्योगका नाममा रहेका सबै बैंकका खाताहरु रोक्का गर्न अदालतले आदेश दिएको हो ।
उद्योगमा अहिले २ सय २० जना कर्मचारीहरु कार्यरत रहेका छन् । उनीहरुले पाँच महिनादेखि तलब समेत पाउन सकेका छैनन् । उद्योगले आपूर्तितर्फ झन्डै ६५ करोड भुक्तानी गर्न बाँकी रहेको छ भने विद्युत महशुलको ३० करोड भुक्तानी गर्न बाँकी छ । विगत २८ महिनादेखि कर्मचारीको सञ्चय कोष र नागरिक लगानी कोषमा समेत रकम जम्मा हुन सकेको छैन् । रिटायर कर्मचारीको ४५ करोड रुपैयाँभन्दा माथि भुक्तानी रहेको छ । यी सबै दायित्व जोड्दा करिब डेढ अर्ब रुपैयाँ उद्योगले भुक्तानी गर्नुपर्ने निमित्त महाप्रबन्धक साहले बताए ।
साहले भने, ‘अहिले रौता सर्भिसेज प्रालिले सामानको भुक्तानी नपाएको भन्दै रिट दर्ता भएपछि उक्त रिटको सुनुवाइ गर्दै अदालतले उद्योगका सबै बैंक खाता रोक्का गरेको छ ।’
रौता सप्लायर्सका सञ्चालक सुवास राउतलगायतका सञ्चालकले दिएको मुद्दाउपर जिल्ला अदालतले बैंक खाता रोक्का गरेसँगै सम्पूर्ण खाता रोक्का भएको उद्योगका लेखा अधिकृत सञ्जीव रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार सरकारी तथा निजी बैंकहरूमा भएका १६ वटा खाता रोक्का भएपछि अहिले उद्योगको सम्पूर्ण आर्थिक कारोबार ठप्प भएको छ । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकलगायतका बैंकमा उद्योगका खाता रहेका थिए ।
उदयपुर सिमेन्ट उद्योगले रौता सप्लायर्सको मात्र ९५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सोही रकम उद्योगले नदिएको भन्दै रौता सप्लायर्सले भुक्तानी माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । तर, उद्योगसँग कच्चा पदार्थ खरिद गर्नेसम्म पैसा नभएकाले रौता सप्लायर्सको भुक्तानी नदिएको साहले बताए । उनले भने, ‘काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध हामी उच्च अदालत पाटन जाने तयारीमा छौँ, खाता फुकुवा भएन भने उद्योग झनै समस्यामा पर्छ ।’
अहिले चालु, पुँजीगत र बचत खाता सबै रोकिएका छन् । संघीय सरकारले दिएको १६ करोडबाट उद्योगमा मर्मतसम्भारको काम भइरहेको थियो । मर्मतसम्भार शीर्षकमा सरकारले दिएको १६ करोडबाटै भुक्तानी माग्दै सप्लायर्सका सञ्चालकले मुद्दा हालेपछि उद्योगलाई थप समस्या परेको हो ।
चालु आर्थिक वर्ष ०८१/८२ उदयपुर सिमेन्ट उद्योग १८ दिन मात्र चलेको थियो तर अहिले पछिल्लो समय मंसिर १९ गतेदेखि भने उद्योग पूर्णतः बन्द भएको छ । निमित्त महाप्रबन्धक साह भन्छन्, ‘मुख्य समस्या कोइला खरिद गर्ने पैसाकै अभावले गर्दा उद्योग पूर्ण रूपमा बन्द भएको हो ।’ उद्योग बन्द भएपछि घाटा बढिरहेको र उद्योगले तिर्नुपर्ने दायित्व बढेर गएको छ ।