
उर्लाबारी । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले व्यावहारिक र व्यावसायिक शिक्षाले मात्रै देशलाई अघि बढाउन सक्ने बताउनुभयो ।
सोमबार मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको ५६ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले शिक्षालाई जीवन व्यवहारसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो । शिक्षा क्षेत्रको विकास नभएसम्म देशको समृद्धि हासिल नहुने भन्दै उहाँले शिक्षालाई जीवन उपयोगी बनाउनु जरुरी रहेको बताउनुभयो । व्यावहारिक र व्यावसायिक शिक्षाले मात्रै देशलाई अघि बढाउन सक्ने भन्दै प्रदेश प्रमुख खापुङ्गले देशमा रहेको स्रोत साधन परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको शिक्षा नीतिको आवश्यकता बताउनुभयो । कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङले समग्र यस क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गरिरहेको बताउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुको सभापतित्व भएको थियो । विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलले विद्यालयको शैक्षिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।