
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले कांग्रेस नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
धरान खानेपानी योजनामा २४ करोड रुपैयाँको अनियमितता भएको आरोप लगाउँदै साम्पाङले विश्वकर्मामाथि छानबिनको माग गरेका हुन् ।
विश्वकर्माले एक टेलिभिजन अन्तर्वार्तामा धरान खानेपानी योजनाबारे गरेको टिप्पणीको विषयलाई लिएर साम्पाङले अख्तियारमा उजुरी दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उजुरीको जानकारी दिँदै साम्पाङले लेखेका छन्, ‘अख्तियारलाई फेरि एउटा काम दिएँ मैले आज, हेरौँ कतिको इमानदार भएर काम गर्दो रैछ । २४ करोडको हिनामिना देखिन्छ यहाँ ।’
साम्पाङले यस विषयमा छानबिन गर्न अख्तियारलाई दबाब दिन सबैलाई आग्रह पनि गरेका छन् ।