
काठमाडौं । तपश्वीको भेषमा अनुयायी बलात्कार गरेको अभियोग लागेका रामबहादुर बम्जन अदालतले दिएको ३५ दिने म्यादभित्र हाजिर भएनन् ।
जिल्ला अदालत, सर्लाहीले २४ कात्तिकमा निजगढमा रहेको बम्जन निवासमा सूचना टाँस गर्दै अदालतमा हाजिर हुन भनेको थियो । तर, उनी उपस्थित नभएको जिल्ला अदालत, सर्लाहीका वैतनिक वकिल नरेशकुमार चौधरीले बताए ।
बम्जनलाई खोज्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितका प्रहरी टोलीले पटकपटक उनको आश्रममा छापा हानेका थिए । बम्जन फेला नपरेपछि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको सम्बन्धी विषयमा जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीमार्फत १८ असारमा मुद्दा दायर भएको थियो ।
अधिवक्ता टीपी शर्मा कँडेलका अनुसार अदालतमा बम्जन उपस्थित नहुनु भनेको उनी आफैं कमजोर हुनु हो । ‘प्रतिवादी अदालतमा उपस्थित नभएपछि उनीविरुद्धको मुद्दा अझै बलियो हुन्छ, आफूविरुद्धको अभियोगको प्रतिरक्षाका लागि पनि बम्जन अदालतमा उपस्थित हुनुपर्ने हो’, उनले भने, ‘अब अदालतले एकपक्षीयरुपमा फैसला गर्छ ।’