उर्लाबारी । मोरङको उर्लाबारी–५ चौक स्थित मोवाईल वल्र्डमा सोमबार विहान करिब १ बजे भएको चोरी प्रकरणमा प्रहरीले अहिलेसम्म कुनै ठोस प्रगति गर्न सकेको छैन ।
घटना भएको तीन दिन भइसक्दा पनि घटनामा संलग्नको पहिचान हुन सकेको छैन । प्रहरी कार्यालय नजिकै ठूलो परिमाणको चोरीको घटना हुनुले पनि प्रहरीमाथि चर्को दबाब देखिएको छ । ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालको कमाण्डमा ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले सीसीटीभी फुटेज संकलन गरी अध्ययन गरिरहेको छ । तर, अहिलेसम्म ठोस प्रमाण भेट्न नसकेको बुझिएको छ ।
चोरीको प्रकृति हेर्दा संगठित पेसेवार समूहको संलग्नता हुन सक्ने आशंका गरिएको छ । चोरी गर्ने समूह भारत पुगिसकेको हुन सक्ने आशंका पनि गरिएको छ । तर, प्रहरीले यस बारेमा केही जानकारी दिएको छैन । प्रहरीले घटनालाई गम्भिर रुपमा अनुसन्धान गरिरहेको जनाएको छ । अझैसम्म दोषी पक्राउ नपरेपछि प्रहरीको अनुसन्धान क्षमतामाथि प्रश्न पनि उठ्न थालेको छ । प्रहरी कार्यालयदेखि १ सय ५० मिटर दुरीमा चोरी हुनुले सिंगो व्यपारीक क्षेत्र नै आतंकित देखिएको र सुरक्षा सम्बेदनशीलताको विषयमा गम्भिर प्रश्न चिन्ह खडा भएको छ । उर्लाबारी प्रहरीले अनुसन्धान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै अपराधीलाई चाँडै कानुनी दायरामा ल्याइने जनाएको छ । सीसीटीभी फुटेज, सोहि प्रकृतिका घटनामा संलग्नहरुको विवरण तथा सुराकीको आधारमा अनुसन्धान अघि बढाइरहेका उर्लाबारी प्रहरीले बताएको छ । प्रहरी स्रोत अनुसार दिनरात नभनी सो घटनाबारे अनुसन्धान भैरहेको छ ।
सञ्चालक योगराज कार्की अनुसार आईफोन, सामसुङ, रेडमी, रियलमी, ओपोलगायत विभिन्न ब्राण्डका ४ सय ६५ भन्दा बढी मोबाईलहरु पसलमा राखिएको थियो । प्राप्त जानकारीअनुसार डिष्ट्रिव्युटरबाट ति मोवाईलहरु आईतबार मात्रै उनको पसलमा डेलिभरी भएको थियो । स्रोतकाअनुसार प्रहरीले हालसम्म करिब २ सय थान मोवाईलका बक्स र ५० थान बढि चार्जर मात्र फेला पारेको छ । प्रहरीले उक्त पसलसहित आसपासका पसलहरुमा भएको सीसी क्यामेराको फुटेजबाट समेत अनुसन्धान गरिरहेतापनि चोरीमा संलग्नको पहिचान गर्न भने सकिरहेको छैन । पसलमा रहेको सीसी क्यामेरा फुटेजमा २ जना केटाहरुले चोरी गरिरहेको देखिन्छ । २ जनाले मोबाइल बोरामा राखेर ४ पटक त ओसारेकै देखिन्छ । घटना सोमबार बिहान राति १ः२३ बजेतिरको हो । करिब १ घण्टा लगाएर चोरी गरेको पाइएको छ । फुटेजबाट मात्रै चोरीमा संलग्नको पहिचान गर्न प्रहरीलाई गाह्रो परेको छ । उर्लाबारीमा ठूलो परिणाममा नगदसहित मोबाइल चोरी भएपछि प्रहरीमाथि चुनौति थपिएको छ । प्रहरीले यदि छिट्टै अपराधी पक्राउ गर्न सकेन भने, प्रहरीको दक्षता र प्रतिबद्धतामाथि थप प्रश्न उठ्ने निश्चित छ । त्यसैकारण पनि प्रहरीले यो घटनालाई गम्भिर रुपमा लिएर अनुसन्धान गरिरहेको बुझिएको छ ।
ADVERTISEMENT