उर्लाबारी । मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्तिको विषयलाई लिएर कोशी प्रदेशसभा बैठकमा सांसदले प्रश्न उठाएका छन् ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद गणेश उप्रेती सुशिलले चार वर्षको लागि नियुक्ति भएका इन्द्रकुमार योन्जन तामाङ्गलाई हटाएर प्रदेश सरकारले अदालतको अवहेलना गरेको बताउनुभयो । प्रदेश सभामा विशेष समय लिएर बोल्दै उप्रेतीले वर्तमान सरकारले अदालतको अवहेनला मात्रै नगरेर सरकार अनुदार भएको आरोप लगाउनुभयो । ‘सामाजिक विकास मन्त्रालय अन्र्तगत प्रदेश खेलकुद विकास बोर्ड रहेको छ । खेलकुद विकास बोर्डले २०८० चैत्र २३ गते इन्द्र लामालाई चार वर्षको लागि मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्ति गरेको थियो । त्यसपछि सदस्य सचिब परिवर्तन हुनुभयो । २०८१ भदौ ४ गते खेलकुद विकास समितिको अध्यक्षलाई निलम्बन गर्नुभयो । पीडित अदालतमा जानुभयो । अदालतले काम गर्न दिन अन्तरिम आदेश दिएको छ । यो मुद्दा अहिले पनि अदालतमा बिचारिधन रहेको छ । फागुन २६ गते पेशी तोकिएको छ । अदालतमा मुद्दा चलिरहदा १८ माघमा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सुरज श्रेष्ठलाई नियुक्ति गरिएको छ,’ उहाँले भन्नुभयो । अदालतको आदेश पनि नमानेर अहिलेको सरकार हान्ने गोरुजस्तो भएको उप्रेतीले बताउनुभयो । ‘जनताले विधिको शासन गर्ने भनेर पठाएको हो । संख्या छ भन्ने बितिकै धुव्रे हात्ती जस्तो जे मन लागो त्यहि गर्ने छुट कसैलाई छैन’ उहाँले भन्नुभयो ।