उर्लाबारी । मोरङको उर्लाबारी–५ को मुख्य चौकमा योगराज कार्कीले सञ्चालन गर्दै आएको मोबाइल वल्र्डमा गएराति भएको चोरीप्रति उर्लाबारी उद्योग वाणिज्य संघले कडा आपत्ति जनाउँदै घटनामा संलग्नहरूलाई चाँडोभन्दा चाँडो कानुनी दायरामा ल्याउन माग गरेको छ ।
सोमबार उर्लाबारी–५ स्थित संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तारामान सिरिङ लिम्बूले घटनाको निन्दा गर्दै इलाका प्रहरी कार्यालयबाट मात्र १५० मिटरको दूरीमा रहेको पसलमा यति ठूलो चोरी हुनु गम्भीर विषय भएको र यसले सम्पूर्ण व्यापारीहरुलाई आतंकित बनाएको बताउनुभयो । उहाँले दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । उहाँले शान्ति सुरक्षा ब्यवस्था मिलाउन पनि प्रहरी प्रशासनसँग अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष गोवर्धन शाक्य, पूर्व अध्यक्ष तेजकुमार रिजाल, पूर्व अध्यक्ष शेरबहादुर भण्डारी, वरिष्ठ उपाध्यक्ष ज्ञानु श्रेष्ठ, संघका सल्लाहकार गोपाल कटुवाललगायतले दोषीलाई चाँडो कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ । उहाँहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सुरक्षाकर्मीहरूलाई आग्रह गर्नुभएको छ । साथै, व्यापारिक क्षेत्रमा बढ्दो चोरीका घटनाहरू रोक्न सुरक्षा व्यवस्था मजबुत बनाउन माग अघि सार्नुभएको छ । गएराति उर्लाबारी–५ चौकमा रहेको मोबाइल वल्र्ड पसलमा अज्ञात समूहले चोरी गरी करिब ३ करोड रुपैयाँभन्दा बढीको मोबाइल चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ । यस घटनाले उर्लाबारीका व्यापारीहरूमा त्रास बढाएको छ भने स्थानीय प्रशासनमाथि पनि प्रश्न उठेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार घटनाको अनुसन्धान जारी रहेको छ ।
ADVERTISEMENT