माघ १२ गते ताप्लेजुङ पाथीभरा क्षेत्रमा भएको अप्रिय भएको घटना र त्यसअघि पनि सो क्षेत्रमा भएको विभिन्न घटनाले सिंगो देशको ध्यान आकृष्ट गरेको छ । ताप्लेजुङ पाथीभरा मुक्कुम्लुङमा केबलकार निर्माणको विषयलाई लिएर स्थानीय र सुरक्षाकर्मीबिच भएको झडप गम्भीर एवम् दुःखद् घटना हो । यो विषय गम्भीर पनि छ । यस घटनाप्रति दुःख व्यक्त गर्दै यस घटनामा घाइते भएका सगुन लावती, यामबहादुर लिम्बू, धर्ममान पालुङ्वालगायत घाइते सुरक्षाकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
ताप्लेजुङमा भइरहेको घटनाको पछाडि दुई वटा मुख्य कारणहरु देखिएका छन् । एउटा पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार बनाउने र अर्को केबलकार बनाउन पाइँदैन भन्ने कुरा । निष्पक्ष भएर सोच्ने हो भने न हामी विकासलाई रोक्न सक्छौं न परम्परादेखि चलिआएका धार्मिक मान्यता र संस्कृतिलाई रोक्न सक्छौं । यी दुवै कुरालाई एकैसाथ अगाडि बढाउँदा समस्या सिर्जना भएको छ । हामीले कुनैपनि विवादको समाधान वार्ता र शान्तिपूर्ण छलफलबाट गर्न सक्छौं र गरिआएका पनि छौं । पाथीभरा क्षेत्रसँग जोडेर सिंगो ताप्लेजुङको पर्यटनको विकास गर्ने हो भने त्यस क्षेत्रमा केबलकार निर्माणलाई अस्वीकार गर्न सकिन्न । माता पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको संख्या विस्तार भई धार्मिक पर्यटन क्षेत्रको रुपमा ताप्लेजुङलाई विकास गर्न सकिन्छ । त्यसैले पर्यटन क्षेत्रको विकास पर्यटकको सहज आवतजावतका लागि केबलकारलगायत भौतिक पूर्वाधारको विकास गर्न जरुरी छ ।
तर, हामीले गम्भीर हुनुपर्ने कहाँ छ भने पाथीभराको केबलकार निर्माण गर्नुभन्दा पहिले पाथीभरा क्षेत्रको धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षण र सम्बद्र्धनको लागि केबलकार संचालन गर्न के कस्ता योजना ल्याइएको छ ? पाथीभरा विकासका लागि केबलकारले आर्जन गर्ने मुनाफा कति कुन विषय वा शीर्षकमा खर्च गरिन्छ ? प्रचारप्रसार कसरी गरिनछ ? केबलकार निर्माण गर्दा स्थानीय कुन ठाउँ उपयुक्त हुन्छ भन्छन् त्यस विषयमा स्पष्ट भएर अगाडि बढ्नुपर्छ । विकास निर्माणमा स्थानीयवासीको सहभागिता महत्वपूर्ण हुन्छ । कुनै पनि ठूलो परियोजना गर्न स्थानीयको भावना, चाहना, परामर्श, सहभागिता र सहमतिलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । यसो गर्नसके त्यो विकास दीगो हुन्छ । जुन विकासलाई स्थानीयले अपनत्व गर्छ त्यो विकास स्थायी हुन्छ । विकासले निम्त्याउने विकासले निम्त्याउने सामाजिक र वातावरणीय प्रभाव मूल्यांकन जरुरी हुन्छ । सामाजिक सद्भाव र स्थिरताबिनाको विकासले दीर्घकालीन रुपमा समस्या समाधान हुँदैन ।
रोजगारी सिर्जना र विकास निर्माणमा निजी क्षेत्रको सहभागिता हामी सबैले आवश्यक ठानेको यथार्थ पनि हो । समुदायको सहभागिता र साझेदारी बिना निजी क्षेत्र एक्लैले लगानी गर्न सक्दैन । नाफा केबल आर्थिक उद्देश्य प्राप्तिको लागि मात्र पनि राखिनु पनि हुँदैन । निजी क्षेत्रले सामाजिक पुँजीको निर्माण गर्ने अभिभारा पनि बोकेको हुन्छ ।
यो देशको सामाजिक, सांस्कृतिक, जातीय र भौगोलिक विविधतालाई हामीले उच्च सम्मान गर्दै आएका छौं । चाहे राजनीतिक गतिविधि हुन् या विकास प्रक्रिया जनसहभागिता र जनताको विचारलाई प्राथमिकतामा राखिन्छ । हाम्रोजस्तो जस्तो संघीय लोकतान्त्रिक गणतन्त्र शासन भएको देशमा समाजवादको आदर्शले समाजमा रहेका आममानिसको अधिकारलाई सम्मान गर्दै वस्तुको यथोचित वितरणलाई जोड दिने आधारशीला तयार गरेको छ ।
ताप्लेजुङमा भएको यस दुःखद घटनाले हामी सचेत हुनुपर्ने सन्देश दिएको छ । विकासको र संस्कृतिबिचको सम्बन्ध अटुट रहन्छ र अटुट रहनुपर्छ । सांस्कृतिक रहनसहन र समुदायको थातथलोको उचित सम्मान हुनुपर्छ । स्रोतको बाँडफाँड गरिँदा मानिसले जहिले पनि बाँच्न पाउने अधिकार, उसको पहिचान एवं अस्तित्वको रक्षा र साझा भविष्यको सुनिश्चिताको मुख्य सर्त हुन्छ । र, विकासको प्रक्रियाले समाजमा विभाजनको रेखा कोरिनु राम्रो देखिदैन÷ हुँदैन । स्थानीयहरुको आस्था र पवित्रतामाथि आँच नपुग्ने गरी विकास गर्नु आजको आवश्यकता हो । तसर्थ विकास प्रक्रियामा निजी क्षेत्रको उत्साहलाई पनि महत्व दिँदै स्थानीयवासीको उचित मागलाई सम्बोधन गर्न जरुरी छ । सभामुख मार्फत सम्पूर्ण सरोकारवाला पक्षसँग तत्काल सम्वाद र वार्ता गरी तीनै तहको सरकारको ध्यान केन्द्रित गर्दछु ।