काठमाडौं। भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड हुँदा १४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । यद्यपी, मृतक वा घाइतेको संख्याबारे प्रशासनले कुनै जानकारी दिएको छैन ।
भारतीय सञ्चारमाध्यमका अनुसार भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन् । अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीका अनुसार संगम नाकामा अत्याधिक भीडभाडका कारण यस्तो निर्णय गरिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा घटनाको जानकारी लिएका छन् ।
संगम नाकामा अफवाहका कारण भागदौड मच्चिएको हो । केही महिलाहरू भुइँमा लडे र मानिसहरू उनीहरूमाथि दौडे । दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगम तटपुगेका थिए । घाइते र मृतकलाई अस्पताल लगिएको छ । अहिले संगम क्षेत्रमा सर्वसाधारणको प्रवेश रोकिएको छ । भीड बढ्न नदिन प्रयागराज सहरमा पनि भक्तजनको आगमनमा रोक लगाइएको छ । त्यसका लागि सहरसँग सीमा जोडिएका जिल्लामा प्रशासनलाई सतर्कता अपनाइएको छ ।
आज मौनी अमावस्याको महाकुम्भमा स्नान हुने भएकाले करिब ५ करोड भक्तजन नगरमा आउने अनुमान गरिएको छ । प्रशासनका अनुसार राति अबेरसम्म संगमसहित ४४ घाटमा आठदेखि १० करोड भक्तजनले स्नान गर्ने अपेक्षा गरिएको छ ।
हिजो मंगलबार साढे ५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए । प्रयागराज सहरमा सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ छन् ।