झापा। मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतका ६ वटा संस्थाले माघ १५ गते मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।
पाथीभरामा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै मुक्कुुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति , पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति , किरात याक्थुङ चुम्लुङ , थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी बन्दको आह्वान गरेका हुन् ।सात बुँदे आन्दोलनको कार्यक्रममा उनीहरुले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङतर्फ छिर्ने नाकाहरुमा अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेका हुन् ।
चन्द्र ढकालले सञ्चालन गरेको आइएमई बैंकको खाता बन्द गर्न आह्वान गरेका छन् भने माघ १४ गते बैंकको अगाडि शान्तिपूर्ण धर्ना दिने बताएका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरीको ग्लोबल आइएमई बैंक बन्द गर्नुपर्ने माग पनि राखेका छन् ।
चन्द्र ढकाल र उनका कार्यकर्ता रुद्र पौडेललाई ताप्लेजुङ प्रवेश निषेध गर्ने, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलाई जिल्ला बाहिर प्रवेश निषेध गर्ने, पाथीभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखले माफी माग्नुपर्ने र कारबाही गर्नुपर्ने तथा राज्य आतंक, प्रहरी दमन र ज्यादती, केबलकार निर्माण खारेजीका विषयमा कोणसभा गर्ने उल्लेख छ ।
शनिबार ‘नो केबलकार समूह’ र प्रहरीबीच दुई पटक झडप भएको थियो । झडपका क्रममा गम्भीर घाइते तीन जनालाई उपचारका लागि काठमाडौं पु¥याइएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचारपछि शनिबार राति स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको टोलीले नोबेल अस्पताल पु¥याएको थियो । नोबेलबाट नेपाली सेनाको वायुयानबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिकाका यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ–५ का सगुन लावती र फुङलिङ–८ दोखुका धर्मेन्द्र पालुङ्वालाई उपचारका लागि काठमाडौ लगिएको छ । लिम्बू र लावतीलाई गोली लागेको छ । लावतीको खुट्टामा र लिम्बूको कोखमा गोली लागेको जनाइएको छ । पालुङ्वाको भने कुममा चोट लागेको अस्पतालले जनाएको छ ।
झडपका क्रममा घाइते मेरिङदेन गाउँपालिकाका विशाल श्रेङ लिम्बू र पाँचथरको मिक्लाजुङ–५ का मंगल लावती उपचारपछि ताप्लेजुङ अस्पतालबाटै फर्किएका छन् ।
नेपाल प्रहरीका इन्स्पेक्टर रोहित शर्मासहित जवानसम्मका १२ र सशस्त्र प्रहरीका ९ जना घाइते भएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । दुवै पक्षले आफ्नो कारणले झडप नभएको दाबी गरेका छन् ।
आन्दोलनकारीले ढुंगामुढा गरेर गुलेली हानेपछि गोली हान्न बाध्य भएको प्रशासनले जनाएको छ भने नो केबलकार समूहले शान्तिपूर्ण आन्दोलनको तयारी गरिरहँदा प्रहरीले अन्धाधुन्ध आक्रमण गरेको दाबी गरेको छ ।
संयुक्त विज्ञप्तिमा शनिवार साँझ खाना खाइरहेको अवस्थामा गोली चलाएको र कुटपिट गरी थुप्रैलाई घाइते बनाएको दावी गरिएको छ । लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई ताप्लेजुङ प्रहरीले हिरासतमा राखेको छ भने कतिपय घाइतेहरू सम्पर्कमा आउन नसकेको जनाइएको छ ।
यसैबीच राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले पाथीभरा क्षेत्रमा भएको घटनाप्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जारी गरी घटनाका सम्बन्धमा तत्काल आन्दोलनरत पक्षसंग संवाद गरी समस्याको समाधान खोज्न सरकारसमक्ष माग गरेको छ । साथै संयमता अपनाउन आन्दोलनरत पक्षसमक्ष अपिल गरेको छ ।
यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं १ समितिले प्रेस विज्ञप्ति जारी गरी मुक्कुम्लुङ संरक्षण अभियन्ता र सरकार पक्षबीच वार्ता गरी मुक्कुम्लुङको अस्तित्व कायम राख्न र घाइतेहरूको उपचार सरकारबाटै गराउन माग गरेको छ ।