उर्लाबारी । उर्लाबारी जेसीजको २७ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा शनिबार आयोजित कार्यक्रममा उर्लाबारी जेसीज २०२४ का अध्यक्ष नविन श्रेष्ठले २०२५ का अध्यक्ष टिकाप्रसाद भट्टराईलाई पद हस्तान्तरण गर्नुभएको हो । गत मंसिर २१ गते सम्पन्न उर्लाबारी जेसीजको २७ औँ चुनावी साधारणसभामा वर्ष २०२५ का लागि अध्यक्षमा भट्टराईसहित कार्यकारीणी उपाध्यक्षमा लक्ष्मण दाहाल र रञ्जित श्रेष्ठ, उपाध्यक्षमा किसन अटल, मिलन पोख्रेल, धिरज निरौला र पवन घिमिरे र जनसम्पर्क अधिकारीमा एरिसा कटुवाल सर्वसम्मत निर्वाचित हुनुभएको थियो । अध्यक्ष भट्टराईले सन् २०२५ का लागि विभिन्न पदमा जेसीज सदस्यहरुलाई मनोनित गर्नुभएको छ । उहाले कानुनी सल्लाहकारमा निशान भट्टराई, महासचिवमा रोशन घिमिरे, कोषाध्यक्षमा दिनेश दाहाल, सचिवमा पोषण आचार्य र अध्यक्ष सल्लाहकारमा केदार भण्डारीलाई मनोनित गर्नुभएको छ । कोशी प्रदेश सभाकी प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जेसीज वर्ष २०२४ मा उत्कृष्ट कार्य सम्पन्न गरेका जेसीज सदस्यहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
यस्तै सो अवसरमा उर्लाबारी जेसीजले वर्षभरि गरेका गतिविधिलाई प्रचारप्रसार गरी सहयोग गरेको भन्दै अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराईलाई सम्मानित समेत गरिएको थियो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर उपप्रमुख मिना खतिवडा पौडेल, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेललगायतको उपस्थिति रहेको थियो । उर्लाबारी जेसीज २०२४ का अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
ADVERTISEMENT