उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीको दोस्रो अधिवेशन शनिबारबाट सुरु हुँदैछ ।
शनिबार विहान ११ बजे उर्लाबारी–४ बरिष्ठ रिसोर्टमा अधिवेशन उद्घाटन हुनेछ । अधिवेशन उद्घाटन गर्न पार्टीका महासचिब देव गुरुङ आउँदै हुनुहुन्छ । उद्घाटनसत्रपछि बन्दसत्रको कार्यक्रम रहेको छ भने त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
माओवादी केन्द्र उर्लाबारीको अध्यक्षमा आधा दर्जनले आकांक्षा ब्यक्त गरेपनि अधिकांशले पुनः गजेन्द्र दंगाललाई एक कार्यकाल नेतृत्व दिन राजी देखिएका छन् । अध्यक्षका आकांक्षी वर्तमान उपाध्यक्ष खगेन्द्र पराजुली, वर्तमान सचिब पवन चौधरी, मिलन दाहाललगायत पुनः एक कार्यकाल दंगाललाई नेतृत्व दिनु पर्छ भन्ने कित्तामा उभिएका छन् । जसका कारण अध्यक्ष पदमा दंगाल सर्वसम्मत बन्ने सम्भावना बढी छ । कसैले उम्मेद्वारी दिएपनि दंगालको पल्लाभारी हुने निश्चित जस्तै छ ।
उपाध्यक्ष पदमा पनि आधा दर्जनकै दाबी देखिएको छ । महिला उपाध्यक्षमा रमा थापा नेपाल बन्ने सम्भावना छ । वर्तमान कोषाध्यक्षसमेत रहनुभएकी उहाँ वर्तमान समिति उत्कृष्ट काम गर्नेमा पर्नुहुन्छ । अन्य केहीले पनि आकांक्षा राखेको भएपनि उहाँको पक्षमा अधिकांशको समर्थन रहेका देखिएको छ । दुई उपाध्यक्षमा राजिब लिम्बू, खगेन्द्र पराजुली, दिपक आले मगर, सविन घिमिरे मुख्य प्रतिष्पर्धी हुनुहुन्छ । लिम्बू पूर्व वाइसिएल मोरङका संयोजक हुनुहुन्छ भने पराजुली वर्तमान उपाध्यक्ष हुनुहुन्छ । मगर वर्तमान सहसचिब र वाइसिएल मोरङको इन्चार्ज हुनुहुन्छ भने घिमिरे उर्लाबारी–८ का पूर्व अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै, सचिबमा पवन चौधरी, मिलन गौतम र राजेन्द्र बास्तोला मुख्य प्रतिष्पर्धी देखिनुभएको छ । त्यस्तै, सहसचिब र कोषाध्यक्ष पनि आकांक्षीको ताँती छ । सबैलाई समेटेर सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको केन्द्रीय सदस्य एबं उर्लाबारीका कमाण्डर विशेन्द्र चेम्जोङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय