उर्लाबारी । धिमाल जातीय विकास केन्द्रको आयोजनामा मोरङको उर्लाबारीमा धिमाल जातीको मौलिकता झल्किने चिचिरी गेन्द्रो दिवसको तयारी अन्तिम चरणमा पुगेको छ ।
माघ १२ गते उर्लाबारी–५ स्थित हाटखोलामा चिचिरी गेन्द्रो दिवस मनाईदैछ । ‘संस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने मुल नाराका साथ पाँचौ संस्करणको कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।
धिमाल समुदायको मौलिक परिकार, संस्कृतिको प्रवर्धन र प्रचारप्रसार गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको केन्द्रका महासचिव मात्रिका धिमालले बताउनुभयो । उहाँका अनुसार तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रममा ४ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा धिमाल समुदायका परम्परागत परिकारहरू चिचिरी, गेन्द्रो, तोले, चुवर, माखालाई, पायाको बिहा, गोरा, हाया लगायतका परीकारहरु सहितको फुड स्टल प्रदर्शनीमा राखिने जनाइएको छ । उक्त कार्यक्रममा गायिका बेनिसा पौडेल, छेसाङ तामाङ, डिकबहादुर धिमाल, सन्जिव धिमाल, राजेश धिमाल, सुरेश धिमाल र उर्नि तुन्जाईलगायतको प्रस्तुति रहने आयोजकले बताएको छ ।
धिमाल समुदायको मौलिक पहिचान झल्काउने यस प्रकारका कार्यक्रमहरूले समूदायको सांस्कृतिक धरोहरको संरक्षण र प्रचारमा सहयोग पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ ।
ADVERTISEMENT