दोधारा चाँदनी । हमास–इजरायलबीच युद्धविराम भएपछि बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको परिवार उनी सकुशल घर फर्कने आशामा व्यग्र प्रतीक्षामा छन् ।
युद्धविरामको खबरले १५ महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा उनी फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा उनी रिहाइ हुने आशा उनको परिवारमा छ ।
मलिन अनुहारमा विपिनका आमा पद्माले भनिन्, ‘युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो, तर भएन । मेरो निर्दोष छोरा १५ महिनादेखि बन्धक छ ।’ उनले यसअघि पनि युद्धविराम भएका बेला छोराको रिहाइको आशा गरिए पनि रिहाइ नभएको बताउँदै यसपटक रिहाइ हुनेमा आशावादी रहेको बताइन् ।
‘युद्धविराम भड्किएर फेरि युद्ध भइहाल्छ कि भन्ने हाम्रो मनमा डर छ,’ आमा पद्माले भनिन्, ‘जसरी हुन्छ अहिलेको युद्धविराममा मेरो छोराको सकुशल रिहाइ होस् सरकारसँग यही अनुरोध छ ।’ सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो । आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि उनको अवस्था अज्ञात छ ।
इजरायल सरकारले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा विपिनको नाम समावेस छैन ।
विपिनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताउँछन् । ‘सरकारसँग प्राप्त सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन्, विपिनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ,’ उनले भने, ‘अहिले हमास–इजरायल युद्धविराम भएको छ, हामी विपिनको सकुशल रिहाइ हुने आशामा छौँ ।’
गृहमन्त्री लेखकले विपिनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताए ।