काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा ४२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार रास्वपा सभापति रवि लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

यसअघि सरकारी वकिलको कार्यालयले पुराना र नयाँ गरी ४२ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको थियो ।

प्रतिवेदनमा रविसँग ४ करोड १५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख बढी बचत रकम हिनामिना भएको आरोप छ ।

सुप्रिमको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख छ ।

यस विषयमा कार्तिक २७ गते भैरहवास्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।

काठमाडौं र कास्की जिल्ला अदालतबाट यसअघि लामिछानेलाई धरौटीमा छाड्ने आदेश भइसकेको छ । रुपन्देहीबाहेक उनीविरुद्ध चितवन र पर्सामा मुद्दा दायर हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय