उर्लाबारी । प्याव्सन नगर समिति उर्लाबारीको आयोजनामा ‘प्याव्सन स्पोट्स मिट २०८१’ सुरु भएको छ ।
स्पोट्स मिटको बुधबार प्याव्सन नगर अध्यक्ष सूर्य पौडेलको अध्यक्षता र उर्लाबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तान, प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराईलगायतले बोल्नुभएको थियो ।े तीन दिनसम्म सञ्चालन हुने स्पोट्स मिटमा छात्रछात्रा भलिबल, छात्र फुटबल र फुटसल र एकल टेबल टेनिस (छात्र÷छात्रा) खेलहरु भइरहेको छ । प्याव्सन आवद्ध नगरका २२ विद्यालयका झण्डै एक हजार विद्यार्थीले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत छात्रा भलिबलमा ८ टिम, छात्र भलिबलमा १० टिम, १५ वर्षमुनिका विद्यार्थीबिचको फुटबलमा १७ टिम, ५ कक्षासम्मका विद्यार्थी सहभागी हुने फुटसलमा ११ टिमको सहभागिता रहेको नगर सचिव एलपी राईले बताउनुभयो । भलिबल र टेबलटेनिस उर्लाबारी–९ स्थित ओभल बोर्डिङ स्कुलमा, फुटबल अरनिको मावि उर्लाबारी–८ को खेलमैदानमा र फुटसल उर्लाबारी फुटसलमा खेलाइएको छ ।
उक्त कार्यक्रम सम्पन्न गर्न ५ लाख ७० हजार ६० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको नगर प्याव्सनका कोषाध्यक्ष तथा खेलकुद कार्यक्रम संयोजक आनन्द कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
नगर प्याव्सनले विगत वर्षदेखि नै यस प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको र यस वर्षपनि निरन्तरता दिइएको प्रमुख सल्लाहकार दिनेश पोख्रेलले बताउनुभयो । नगर स्तरीय प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय