काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिँदैछ ।

लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाकोतर्फबाट भइरहेको थुनछेक बहस नसकिएपछि उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ । बहस नसकिएको भन्दै आइतबार र सोमबार उनलाई हिरासतमा राख्न आदेश दिइएको थियो ।

मंगलबार सार्वजनिक बिदा भएकाले बहस हुन नसकेपछि उनलाई बुधबार अदालतमा उपस्थित गराउन लागिएको हो । थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइ लड्ने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ ।

उनलाई अदालत परिसरबाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले भने बाहिर भने दैनिकजसो नाराबाजी गरिरहेका छन् भने प्रहरी हिरासतमा जानुअघि उनले सबैलाई ‘स्यालुट’ गर्ने गरिरहेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख रुपैयाँ धरौटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालत काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी शुक्रबार हाजिर हुन भने सकेका थिएनन् तर, आइतबारदेखि अदालतमा हाजिर भएका लामिछाने काठमाडौंमा विगत तीन दिनदेखि हिरासतमा रहँदै आएका छन् ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्यालयले उनीविरुद्धसहित मुद्दा दर्ता गरेको हो ।

स्वर्णलक्ष्मी सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितमाथि लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय