
सरोज बस्नेत
उर्लाबारी । मोरङको उर्लाबारी–४ का माहुरीपालक दिपेन्द्र थापाले १५० घार ‘मेलिफेरा’ जातको मौरी पाल्नुभएको छ । तोरी सिजन भएका कारण अहिले थापालाई मह काढ्ने चटारो छ ।
यो समय मह उत्पादनको उचित समय मानिन्छ । उर्लाबारीका अग्रणी माहुरीपालक कृषकका रुपमा गनिनुभएका थापाको मौरी मोह लोभलाग्दो छ । थापाले १२ वर्ष पहिलेदेखि मौरी पालन गर्दै आइरहनुभएको छ । प्रारम्भमा उहाँलाई मौरी पालनवाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै थिएन । मौरी पालन गरे घरमै मात्र प्रयोग हुन्छ भन्ने कुरामा विश्वास गर्ने दिपेन्द्रको आजभोली भने धेरै परिर्वतन आएको छ ।
मौरी पालन सुरु गरेसँगै घरमा मह किन्न विस्तारै विस्तारै मानिसहरू आउन थालेपछि उहाँले अहिले व्यवसायिक रूपमै मौरी पालन गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । अहिले उहाँले मौरी पालनबाटै घर व्यवहार चलाउनुका साथै वार्षिक राम्रै गरी रकम बचत समेत गर्न सफल बन्नुभएको छ । ‘मैले अहिले वार्षिक करिव १० लाख मौरी पालनबाटै कमाउँछु,’ थापाले भन्नुभयो ‘महको माग बढ्दै गएको हुनाले घारहरु पनि थप्दै गएको छु ।’ उहाँले फुर्सदको केही समय मात्र मौरीलाई समय दिए पुग्ने बताउनुभयो ।
उर्लाबारी बहुमुखी क्याम्पसमा स्नातकसम्म अध्ययन गर्नुभएका थापाले पालन गरेको व्यवसायिक मौरी पालन देखेर उलर्मबारीमा मौरी पालन गर्नेहरूको संख्या समेत बढिरहेका छन् । उर्लाबारीमा दर्जन बढीले मौरी पालन गर्दै आएका छन् । उर्लाबारीमा मौरी पालन गर्ने किसानहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । ‘प्रकृतिमा खेर गइरहेको पुष्पको प्रयोगले मौरी पालन गर्न सकिन्छ’, मौरीपालक दिपेन्द्रले भन्नुभयो ‘राम्रो परागसेचन भयो भने बालीनाली पनि सप्रँदा रैछन् ।’ उहाँले आजभोलि गाउँ ठाउँमा डुल्दा घुम्दा सम्भावित ठाउँमा मौरीपालनका लागि अनुरोध गर्ने गरेको समेत बताउनुभयो । ‘तोरीको फूलको रस खाएको मौरीको मह स्वास्थ्यको लागि एकदमै लाभदायी हुन्छ,’ उहाँले भन्नुभयो । उहाँले मह मात्र हैन मौरीको घार र गोलासमेत बिक्री गर्दै आउनुभएको छ ।