-तेजन खड्का
तराई–मधेशमा आउने जो कोहीले यहाँ महिलाप्रति हुने विभेदलाई सहजै अनुभव गर्न सक्छन् । एकाध घटनालाई छोडेर हेर्ने हो भने प्रायः सबै मधेशी महिलाको हकमा यही लागु हुन्छ । मधेशमा प्रायः पुरुषले सम्हाल्दै आएको परम्परागत पेशालाई महिलाले हात हाल्दैनन् । तर, मोरङ, उर्लाबारी–४ आइतबारेकी हेमन्ती ठाकुर यतिबेला सबैका लागि उदाहरण बनेर उभिएकी छिन् ।
उनले पुरुषको आधिपत्य रहेको कपाल काट्ने हजाम पेशालाई अंगिकार गरेकी छिन् । जसबाट उनी मासिक ३० हजार रुपैयाँ आम्दानी गर्छिन । उनको श्रीमान सोनी ठाकुर वैदेशिक रोजगारीका लागि हाल खाडी मुलुकमा छन् । तर, श्रीमानको बिडो उनले थामेकी छिन् । वास्तवमा हेमन्तीले १४ वर्षको उमेरमै कपाल काट्न सिकेकी हुन् । उनको प्रेरणाको श्रोत हजुरबुवा हुन् । ‘कन्जरभेटिभ’ भएपनि हेमन्तीका हजुरबुवा महिलाहरूले पनि केही काम गर्नुपर्छ भन्ने मान्यता राख्थे । त्यसैले घरमै ग्राहक आउँदा हजुरबुवाको कैची चलाउन सिकेकी थिइन । ‘हजुरबुवाको आर्शिवादले आफ्नो खुट्टामा उभिने मौका पाएको छु,’ हेमन्तिले भनिन् ।
अहिले उनलाई भ्याईनभ्याई छ । अन्य पुरुषको छेउपर्दा पनि बात लाग्ने समाजमा उनी पुरुषको अनुहारमा मसाज गर्न पछि हड्दिनन् । ‘यो मेरो पेशा हो । समाजको सबै कुरालाई दिमागमा राखेर हिँड्ने हो भने अगाडि बढ्न सकिदैन,’ उनले भनिन् । उनले यो पेशा अपनाउनुको कारण बताउँदै भनिन्– ‘काम राम्रो, नराम्रो हँुदैन । सोच मात्र राम्रो–नराम्रो हुने हो ।’
उनको पसलमा आउने पुरुषहरू बरु कपाल र दाह्री काट्न लजाउने गर्छन । तर, उनलाई संकोच लाग्दैन। ‘म आफ्नो पेशाप्रति इमान्दार छु । जसले जे जानेको छ, त्यही काम गर्ने हो,’ उनले भनिन् ।
उनी आफ्नो पसलमा आउने नयाँ सेवाग्राहीलाई सहज पार्न आफैले कुर्सीमा बस्न आग्रह गर्छिन ।’ सुरुमा उनलाई पनि केटा मान्छेको दाह्री काट्न असजिलो लागेको थियो । अहिले उनलाई खासै असहज लाग्दैन । उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छिन् । जीविकोपार्जनका लागि हजाम पेशा सहज भएको उनको ठम्याई छ । उनी भन्छिन्, ‘सामाजिक काममा पनि सकेको दानधर्म गरिरहेको छु ।’ उनलाई केही महिलाले केटा मान्छेको दाह्री र कपाल काट्ने भन्दै जिस्काउन
र होच्याउन खोज्छन् । तर, उनले यसलाई खासै महत्व
दिदिनन् ।
चुलोचौको र मेलापातको काममा व्यस्त देखिने नेपाली समाजका कतिपय महिलाका लागि हेमन्तीले सुरु गरेको सैलुन व्यवसाय साँच्चै उदाहरणीय बन्न पुगेको छ । पुरुषले गर्ने काम महिलाले किन गर्न नहुने भन्ने प्रश्न गर्दै उनले हेयर–कटिङको काम गर्दा रमाइलो लागेको अनुभव सुनाइन् । हेमन्ती भन्छिन्,‘ नराम्रा तर्क, वितर्क र खिसी गर्नेको मतलब नराखी निरन्तर अगाडि बढिरहेकी छु । धनिमानी र फुर्सदिलाले छिः यस्तो के काम गरेको भन्दै जिस्काउँथे, खिस्सी गर्ने, होच्याउँन खोज्थे । तर आजभोलि यसै पेशामा स्वाभलम्बी भएपछि उनीहरुको बोली नै बन्द भएको छ ।’
पहिलोपटक आफूले कपाल काटेको देख्ने अचम्ममा पर्ने
गरेको उनको अनुभव छ । ‘कपाल काट्ने, दाह्री काट्ने, अनुहार मसाज गर्ने, फेसवास गर्ने लगायतका सबै काम गर्छु,’ उनले गर्वका साथ भनिन्, ‘कपाल दाह्री काट्न आउने कतिपय
सभ्य र बुझेका व्यक्तिले त महिलाले पनि राम्रोसँग कपाल काट्ने रहेछ भनेर खुसी हुँदै तोकिए भन्दा बढी रुपैयाँ दिएर जान्छन् ।’
आफ्नो पेशाप्रति त्यसो भन्दिँदा हेमन्ती गौरवान्वित हुन्छिन् । उनले आफ्नो कमाईंले घर खर्च चलेको बताइन् । श्रीमानले पठाएको ‘रेमिट्यान्स’ लाई उनले बचतको रुपमा राखेकी छिन् । हेमन्तीको जागर देखेर दंग परेकी महिला नेत्रृ शोभा पालुङ्वाले भनिन् ‘सामाजिक विभेद अन्त्यका लागि उनले अँगालेको अभियानलाई सम्मान गरिनु पर्छ ।
चुलोचौकामा सीमित महिलाले हेमन्तीबाट पाठ सिक्नुपर्छ ।’
सामाजिक रुपमा अपमानित हुने डरले महिलाहरूले घरबाहिर निस्कन नसक्ने यस क्षेत्रमा महिलाले गरेको साहस उदाहरणीय भएको भन्दै हेमन्तीलाई बिभिन्न संघसंस्थाले सम्मान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय