
विराटनगर । नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई आज पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो ।
नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । सोही मुद्दामा अनुसन्धानको लागि प्रहरीले पक्राउ पुर्जीको अनुमति अदालतमा माग गरेको थियो । सोमबार दिउँसो पक्राउको लागि अदालतले अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘प्रहरीले पक्राउ गरी अनुमति माग गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएको छ,’ उनले भने । अदालतले अनुमति दिएपछि ठगी आरोप लागेको पोखरेलको खोजी कार्यमा प्रहरी लागि पर्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । ‘अदालतबाट पक्राउ पुर्जी आएको छ । हामी यस घटनाको अनुसन्धानमा लागि पर्नेछौँ,’ उनले भने ।
उच्च अदालत विराटनगरले पोखरेलविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाउन फैसला गरेको पत्र आइतबार मोरङ प्रहरीले बुझेसँगै अनुसन्धान अगाडी बढेको थियो ।