उर्लाबारी । चिसोे बढेसँगै वनभोज (पिकनिक) जाने क्रम बढेको छ । पुस, माघ र फागुन महिनामा पिकनिक स्पट भरिभराउ देखिन्छन् ।
यस्तै, उर्लाबारीस्थित बेतिनी सिमसार वनभोज टोलीले भरिभराउ बनिरहेको छ । एकान्त र शान्त वातावरणमा रहेका कारण पनि वनभोज टोलीको पहिलो रोजाई बेतिनी सिमसार बनिरहेको छ । उर्लाबारी नगरपालिका–२ मा अवस्थित बेतिनी सिमसार क्षेत्रमा वनभोज खान आउनेको आकर्षण बढेको छ । शनिबार र विदाको दिन वनभोजका लागि एक दर्जन बढी टोलीहरु वनभोजका लागि आउने गरेका छन् ।
पूर्वपश्चिम राजमार्गदेखि तीन किमी उत्तरमा रहेको सो सिमसार क्षेत्र ५८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पुषदेखि फागुनसम्म नै वनभोज खानेको घुइँचो नै लाग्ने गर्छ । मोरङसहित झापा र सुनसरी जिल्लाका मानिसको रोजाइमा बेतिनी सिमसार पर्ने गरेको बेतिनी सामुदायिक वनका अध्यक्ष भीमबहादुर राईले बताउनुभयो । सडक कालोपत्रे भएको खण्डमा थप पर्यटकहरुको आकर्षण बढ्ने देखिन्छ । सडक कच्ची रहेका कारण पर्यटकहरुलाई आवातजावातमा समस्या हुने गरेको स्थानीयको भनाई छ । उर्लाबारी नगरपालिकाले ‘सिमसारयुक्त पर्यटकीय नगर’ समेत घोषणा गरेको छ । उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलले समृद्ध नगर निर्माणका लागि बेतिनी सिमसार क्षेत्रलाई व्यवस्थित बनाउन अति आवश्यक रहेको बताउनुहुन्छ । उहाँका अनुसार बेतिनी सिमसारलाई पूर्वकै आकर्षक पर्यटकीय क्षेत्र बनाउन सकिने देखिन्छ ।
ADVERTISEMENT