झापा, घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध झापा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ ।

सरकारी वकिलको कार्यालय झापाले शिवाकोटीलाई आज अदालतमा उपस्थित गराई अभियोग पत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयका तर्फबाट शिवाकोटीविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता रुद्र आचार्यले बताए । अभियोग पत्र दर्ता भइसकेको बताउँदै जिल्ला अदालतका स्रेस्तेदार किरणकुमार सिंहले भोलि शनिवार बिदा परेकाले आइतबार आरोपितसँग बयान लिएर थुनछेक बहस शुरु गरिने जानकारी दिए ।

बीएण्डसी अस्पतालमा रहेकै बेला शिवाकोटीसँगको बयान लिएर प्रहरीले अनुसन्धान पूरा गरेको थियो । आफूहरूले मुद्दा सरकारी वकिलको कार्यालयलाई बुधवार बुझाइसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको छ । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले उनलाई गत मङ्सिर २४ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय