
सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका–२ अमरदहमा पारस साहले सञ्चालन गरेको किराना पसल र गोदाममा मंगलबार बिहान आगलागी भएको छ ।
बिहान २ बजेतिर सुरु भएको आगोले खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहितको किराना पसल र पसलका सामान राखेको गोदाममा धेरै क्षति गरेको हो । आगो लागेको जानकारी पाउन साथ नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक अनमोल खड्काको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । ठूलो संख्यामा सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो ।
नेपाल तथा सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विभिन्न ठाउँबाट आइपुगेका पाँचवटा दमकलाई आगो नियन्त्रणमा लिन छ घण्टाभन्दा बढी समय लागेको थियो । सबैको प्रयासपछि बिहान ८ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले आगलागीको कारण खुल्न नसकेको बताउँदै विद्युत सर्ट भएर घटना भएको हुनसक्ने जानकारी दिए ।
उनका अनुसार आगोले पसल र गोदाम सञ्चालन गरेको घरमा पूर्ण रुपमा क्षति पुगेको छ । सबै सामान जलेर कामै नलाग्ने अवस्थामा पुगेको एसपी खड्काले बताए । एक्कासि आगो सुरु भएपछि आगो नियन्त्रणको प्रयास गर्दै पसल सञ्चालक र स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए ।
आगलागीमा एक करोड बढीको क्षति भएको बताइए पनि यकिन विवरण उपलब्ध भइसकेको छैन । प्रहरीले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ । उक्त पसल र गोदाम अमरदहकै ठूलो हो । ‘गाउँकै चलेको र ठूलो पसलमा आगोले धेरै क्षति गरेको छ,’ उनले भने, ‘नियन्त्रणमा लिननै समय लागेपछि सबै कुरा जलेर नष्ट भए ।’