काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८५ पुगेको छ ।

आइतबार बिहान १० बजे सम्ममा मृत्यु हुनेको संख्या ८५ पुगेको बीबीसीको समाचारमा उल्लेख छ ।

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका क्रममा एक विमान दुर्घटनामा परेको हो ।

सो विमानमा १८१ जना सवार थिए । जसमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए ।

जेजु एयरको यो विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ ।

विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।

दक्षिण कोरियाको दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार दुई जना जीवितै फेला परेका छन् र उनीहरूलाई उद्धार गरिएको छ ।

समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुईजना थाइल्याण्डका थिए ।

दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक यात्रु र एकजना चालक दलका सदस्यलाई बचाइएको बताइएको छ । ३२ दमकल र ८० कर्मचारी घटनास्थलमा पठाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय