
उर्लाबारी । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी–३ मंगलबारे सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलमा सवार एक पुरुषको मृत्यु भएपछि आफन्तद्वारा १ घण्टा चक्काजाम गरेका छन् ।
शुक्रबार विहान विहान ६ः३० बजे उर्लाबारी–३ बक्राहा पुल छेउमा पश्चिम पथरीबाट पूर्व उर्लाबारीतर्फ आउँदै गरेको प्र १–०१–००१ ख ४१३६ नम्बरको यात्रुबाहक मकालु बसले उर्लाबारी–४ बस्ने ६६ बर्षीय निरबहादुर लिम्बूलाई ठक्कर दिएको थियो । दुर्घटनाबाट गम्भिर घाईते भएका लिम्बूको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा करिव ७ः१० बजे मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ ।
यता प्रहरीले बससहित बसका चालक झापा जिल्लास्थित हल्दिबारी ३ बस्ने ३० बर्षीय चालक पदम गौतमलाई तत्काल नियन्त्रणमा लिईएको जनाएको छ । उनीविरुद्ध सवारी ज्यान मुद्धामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच उनको परिवार र आफन्तले विभिन्न माग राख्दै दिउँसो करिब १ घण्टा सडक अवरुद्ध गरेको छन् । सडक अबरुद्ध हुँदा यात्रुहरुले सास्ती खेप्नु परेको थियो । मृतकको परिवारले यातायात व्यवसायी सम्पर्कमा नआएको भन्दै सडक अबरुद्ध गरेका थिए । पीडित परिवारको माग पुरा गर्ने सहमति भएसँगै राजमार्गको अवरोध खोलिएको थियो ।