
उर्लाबारी । पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपालको २१ औं बार्षिक साधारणसभाको अवसरमा ४ जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।
मोरङको मिक्लाजुङ–२ मा बिहीबार सम्पन्न साधारणसभामा ४ जना पत्रकार पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेमा सञ्चार क्लब नेपालका संस्थापक अध्यक्ष तथा अलकापुरी नेपाल साप्ताहिकका सम्पादक÷प्रकाशक दुर्गाप्रसाद खतिवडा, पूर्व अध्यक्ष तथा उर्लाबारी न्यूजका सम्पादक घनश्याम भण्डारी, पूर्व अध्यक्ष तथा पूर्वी कमाण्ड मिडियाका अध्यक्ष सरोज बस्नेत र अग्रज पत्रकार हरिप्रसाद कोइरालालाई जनही १०÷१० हजारको राशीसहित पुरस्कृत गरिएको छ । सञ्चार क्लब पत्रकारिता पुरस्कारबाट खतिवडा, लिला तथा गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट भण्डारी, दुर्गाराज पोमू लिम्बू स्मृति पत्रकारिता पुरस्कारबाट बस्नेत, दाताराम–पद्मावति खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट कोइरालाई पुरस्कृत गरिएको छ । मिक्लाजुङ गाउँपालिका मोरङका अध्यक्ष बबीकुमार राईको प्रमुख आतिथ्यतामा भएको उक्त साधारणसभामा मिक्लाजुङ–२ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण), उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङ, अक्षयकोषदाता तथा अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमु, समाजसेबी जयधर्म आचार्य, युवा ब्यवसायी सचिन शाक्य, उर्लाबारी रेडक्रसका सभापति भानुभक्त शर्मा पराजुली, पूर्वअध्यक्ष मदनबाबु प्रसाई, घनश्याम भण्डारीलगायतले बोल्नुभएको थियो । सोही अवसरमा नेपाल पत्रकार महासंघको विभिन्न पदमा निर्वाचितहरुलाई सम्मानसमेत गरिएको छ । क्लबका अध्यक्ष कुमार खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा महासचिब तिलक नेपालीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष इश्वर दुलालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिब नेपालीले गर्नुभएको थियो । उपाध्यक्ष सुमन घिमिरेले कार्यक्रममा स्वागत मन्तब्य राख्नुभएको थियो । पर्यटकीय स्थलको रुपमा परिचित कुईनेटारको प्रचारप्रसार गर्ने हेतुले मिक्लाजुङ–२ मा साधारणसभा गरिएको सदस्य खड्ग बेदनाले जानकारी दिनुभयो ।