
उर्लाबारी । मोरङ उर्लाबारी—९ को पोमु परिवारले आफ्ना स्वर्गीय बुबा दुर्गाराज पोमुको स्मृतिमा १ लाख रुपैयाँको पत्रकारिता अक्षयकोष स्थापना गरेको छ ।
पोमुको परिवारले सञ्चार क्लब नेपाल उर्लाबारीसँगको सहकार्यमा अक्षयकोष स्थापना गरेको हो । मंगलबार सञ्चार क्लब नेपाल र पोमु परिवारबिच अक्षयकोष विषयमा छलफल भएको छ । छलफलले १ लाख बराबरको अक्षयकोष स्थापना गर्ने सम्झौता भएको छ । सञ्चार क्लबकोतर्फबाट अध्यक्ष कुमार खड्का र पोमु परिवारको तर्फबाट लोलिम पोमुले हस्ताक्षर गर्नुभएको छ ।
लोलिमसहित दिलिप, दिपेन र दिपक पोमुले स्वर्गीय बुबा दुर्गाराज पोमुको स्मृतिमा पत्रकारिता अक्षयकोष स्थापना गर्नुभएको छ । प्रत्येक बर्ष मोरङ जिल्लाभरीबाट एक जना सक्रिय पत्रकारलाई कोषबाट पुरस्कृत गरिने जनाइएको छ । जसको राशी १० हजार रुपैयाँ रहनेछ । यसैबर्षदेखि पुरस्कार वितरण सुरुवात हुने सञ्चार क्लब नेपालका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । पूर्वी नेपालको ताप्लेजुङस्थित तत्कालीन निगुरादिन—६ खानीगाँउमा जन्मनुभएका पोमुको गत कात्तिक २७ गते निधन भएको थियो ।