उर्लाबारी, उर्लाबारीमा बसोबास गर्ने अल्पसङ्ख्यक सन्थाल जातिको उत्थान र विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम अघि बढाएको छ ।

सन्थाल जातिको परम्परागत पोसाक पन्चीको संरक्षणका लागि नगरपालिकाको सहयोगमा करिब ६ लाख रुपैयाँ लागतमा पन्ची बन्ने मेसिन (पावर लुम) खरिद गरिएको छ । आजबाट उर्लाबारी–८ स्थित जाहेरथान मज्हीथानमा मेसिन जडानको कार्य सुरु गरिएको छ । आज नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बाले मेसिन जडान कार्यको निरीक्षण गर्नुका साथै स्थानीय जुवा वाहा महिला विकास समिति र एब्हेन मार्सल सन्थाल महिला विकास समितिका पदाधिकारी तथा सदस्यहरुसँग छलफल गर्नुभएको छ । सो अवसरमा नगर प्रमुख खरेलले मेसिन जडान सम्पन्न भएपछि २० जना सन्थाल महिलाहरुलाई तालिम दिई परम्परागत पोसाकको संरक्षणका साथै व्यवसायिक बन्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । अल्पसंख्यक सन्थाल समुदायका व्यक्तिहरुको जीवनस्तर उकास्न नगरपालिकाले थप सहयोग गर्ने उहाँले बताउनुभयो ।
नगर उपप्रमुख मीना खतिवडा पौडेलले चुलाचौकामा सीमित पारिएका महिलाहरु अब सीप सिकेर व्यवसायिक बन्नु पर्ने बताउनुभयो । सबै क्षेत्र र वर्गका समुदायको हितमा नगरपालिकाले कार्य गर्दै आएको बताउँदै उहाँले अल्पसंख्यक सन्थाल जातिका व्यक्तिहरुको क्षमता विकास र व्यावसायिकरणमा आफूहरुको ध्यान केन्द्रीत रहेको उहाँले बताउनुभयो । राष्ट्रपति महिला सशक्तिकरण परियोजना अन्तर्गत नमुना सन्थाल बस्तीका २० जनालाई पन्ची बुन्ने तालिम र थप २० जनालाई आवश्यकता पहिचान गरी अर्को तालिम प्रदान गरिने शाखा प्रमुख चन्द्रकला सुब्बाले बताउनुभयो । प्राप्त तालिम र सीप बमोजिम आवश्यकता अनुसार उनीहरुलाई टेवा पुँजी र प्रविधि समेत प्रदान गरिने उपप्रमुख खतिवडाले बताउनुभयो ।
सो अवसरमा जुवा वाहा महिला विकास समितिकी अध्यक्ष कविता सोरेन किस्कु, एब्हेन मार्सल सन्थाल महिला विकास समितिकी सचिव सुकुरमनी मर्डीलगायतले धारणा राख्नुभएको थियो । सन्थाल समुदायका अगुवा बुद्धिलाल सोरेनका अनुसार उर्लाबारीमा २१६ परिवारका ८ सयभन्दा बढी सन्थालहरुको बसोबास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय