उर्लाबारी । लिम्बू समुदायको मुख्य पर्व चासोक तङ्नाम सुरु भएको छ । हरेक वर्ष धान्य पूर्णिमाको दिन मोरङको उर्लाबारीका लिम्बू समुदायले नयाँ अन्न खान सुरु गरेर चासोक तङ्नाम मनाउने गर्छन् ।
किरात याक्थुम चुम्लुङ उर्लाबारीको आयोजनामा उर्लाबारी –९ स्थित आम्बारीमा ५ दिने सांस्कृतिक कार्यक्रमसहित चासोक तङ्नाम सुरु भएको हो । युवा तथा खेलकुद पूर्व मन्त्री डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनाकुमारी पौडेल, वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्की, ९ का वडाध्यक्ष नरबहादुर मोक्तानलगायतले बोल्नुभएको थियो ।
कृषि उत्पादनको सुरुवात भएदेखि नै लिम्बु समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएको बताइन्छ । चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुज्ने र बाली उब्जाइदिने प्रकृति–जल, जमिन, वायु, अग्नि सूर्यलाई विशेष प्रकारले पूजा गरी चासोक तङ्नाम मनाउने गरिएको किरात याक्थुम चुम्लुङ उर्लाबारीकी अध्यक्ष बानु सुब्बाले बताउनुभयो । मानिसलाई बचाउने अन्नको सम्मान गर्ने विशेष दिन चासोक भएको उहाँको भनाइ छ ।
लिम्बू जाति अन्नलाई एक प्रकारले माङ् (देवता) नै मान्छन् । लिम्बू भाषामा ‘चासोक’को अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरा निङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ । तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ भनेको पर्व,चाड अर्थात् उत्सव भन्ने हुन्छ ।
नयाँ अन्न खाँदा, रोगव्याध नलागोस्, स्वस्थ जीवन बाँच्न पाइयोस् भन्ने कामना पनि गरिन्छ । चासोकका बेला कलात्मकरूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ । यसलाई घरको पनि शोभा बढ्ने गरी ढोकाको छेयेउमा झुण्ड्याउने गरिन्छ ।
राई, सुनुवार र याक्खा जातिले समेत यो पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ । चासोकको अवसरमा परम्परागत छेलो हान्ने, हाँडी फुटाउने, धनुष हान्ने खेलहरू खेलाइने गरिएको छ । लिम्बू समूदायले सामूहिक रुपमा धान समेत नाचेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय