दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगे जस्तो देश चलाउन सजिलो नभएको बताउनुभएको छ ।
झापाको दमकमा निर्माण भएको व्यापारिक कप्म्लेक्सको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘कोही भ्रममा नपर्नु भए हुन्छ, देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिन्छ, सहकारी ठगे जस्तो सजिलो छैन’ उहाँले भन्नुभयो–‘ अरुलाई बुरुकबुरुक उफ्रिएर मुख छाडेजस्तो हुँदैन, देश चलाउनलाई ।’ रास्वपा सभापति रवी लामिछानेलाई इंकित गर्दै उहाँले देश चलाउन सहकारी ठगेजस्तो सहज नहुने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक शहर बनाउने बताउनुभयो । १०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कम्प्लेक्स निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने दाबी गर्नुभयो । विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण समेत उहाँले प्रस्तुत गर्नुभएको थियो । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको छ । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय