झापा । झापाको मेचीनगर नगरपालिकाले नगर प्रहरीलाई सवारी साधन हस्तान्तरण गरेको छ ।
बिहीवार कार्यक्रमकाबीच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले संयुक्त रुपमा नगरप्रहरीलाई सवारी साधन हस्तान्तरण गर्नुभएको हो ।
नगर प्रहरीहरूको जिम्मेवारीलाई समयमै कार्यान्वयन गर्न, काममा सहजता होस् भनि नगरपालिकाले सवारी साधन उपलब्ध गराइएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिनुभयो । जनताको सेवामा नगर प्रहरीहरूको जिम्मेवारी महत्वपूर्ण रहने र त्यसलाई सहजरूपमा कार्यान्वयन गर्न सवारीसाधन उपलब्ध गराइएको उहाँको भनाइ छ । उहाँले नगरभित्र हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न र नगरको अहित हुने हरेक क्रियाकलापप्रति चनाखो भएर काम गर्न नगर प्रहरीलाई निर्देशनसमेत दिनुभएको छ । कार्यक्रममा उपप्रमुख उप्रेतीले न्यायिक समितिले गरेका निर्णय तथा बजारमा हुने कालोबजारी, खाद्य वस्तुको कृत्रिम अभाव तथा वजार अनुगमनमा समेत नगर प्रहरीको महत्वपूर्ण भूमिका हुने भन्दै त्यसतर्फ पनि ध्यान दिन निर्देशन दिनुभयो ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले नगर प्रहरीको काम कर्तव्य र अधिकारलाई बुझेर नगरवासीबीच पुग्न र नगर प्रहरी नगरवासीकै हुन् भन्ने सन्देश दिन लाग्न सुझाव दिनुभयो । नगरपालिकाको कार्यालयले नगरप्रहरीलाई आफ्नो छुट्टै सवारी साधन उपलब्ध गराएसंगै अब जिम्मेवारी समयमै कार्यान्वयन गर्न थप सहज भएको मेचीनगर नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक श्याम गिरी बताउनुभयो । मेचीनगर नगरपालिकामा १५ वटा वडा रहेका छन् । एक लाख ३० हजार बढी जनसंख्या रहेको नगरमा एक चालकसहित १९ जना नगरप्रहरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय