विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतले हराउँदै माझी निर्वाचित भएका हुन् ।
निर्वाचित माझीले ६ हजार ९६९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थारुले ५ हजार ३ सय ३३ मत ल्याए ।
यस्तै, नेकपा एमालेका तुलसी राम विश्वासले ४ हजार १५९ मत ल्याएर तेस्रो भएका छन् । ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका मध्ये १८ हजार ५७७ मत खसेको थियो ।
२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन भएको थियो ।
२०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ मत ल्याएर विजयी भएका थिए । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मतमात्रै ल्याएका थिए । विजयी बनेका थारुको निधन भएपछि आइतबार उपनिर्वाचन हुन भएको हो ।
पालिकाको ७ वटा वडामध्ये एमालेले ४, कांग्रेसले २ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेका छन् ।
२०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा तत्कालिन मधेसी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसका कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मत मात्रै ल्याएका थिए ।