किशाेर निराैला
मधुमल्ला बजारमा बालुवा र गिट्टी ओसारपसारका क्रममा न्यूनतम सुरक्षाका मापदण्ड पालना नगरिएको स्थानीयहरूले गुनासो गरेका छन्। विशेषगरी, ट्रकहरूले बालुवा र गिट्टी त्रिपालले नछोपिकन ढुवानी गर्दा सडकमा सामग्री झर्ने, धुलो–धुवाँ फैलने, र दुर्घटनाको जोखिम बढेको छ।
स्थानीय बासिन्दाका अनुसार बालुवा र गिट्टी झर्दा मोटरसाइकल, साइकल र पैदल यात्रुहरूलाई गम्भीर जोखिम परिरहेको छ। यसले सडकमा अवरोध सिर्जना गर्नुका साथै वातावरणीय प्रदूषणलाई थप चर्काएको छ। एक स्थानीयले भने, “खुला रूपमा बालुवा ओसारपसार हुँदा सडकमै दुर्घटनाको अवस्था सिर्जना भएको छ। यो समस्याले हरेक दिन झन् सास्ती दिइरहेको छ।”
सडक सुरक्षाका लागि प्रशासन र स्थानीय निकायले बारम्बार त्रिपालको प्रयोग अनिवार्य गर्न निर्देशन दिए पनि व्यवसायीहरूले यसलाई बेवास्ता गरेका छन्। यसले उनीहरूको गैरजिम्मेवारीपन झल्काउने र स्थानीय जनजीवनमा थप समस्या सिर्जना गर्ने गरेको स्थानीयको आरोप छ।
सडक सुरक्षा र वातावरणीय मापदण्डलाई ध्यानमा राख्दै बालुवा–गिट्टी ओसारपसारका क्रममा आवश्यक सावधानी अपनाउनुपर्ने माग स्थानीयहरूले उठाएका छन्। उनीहरूका अनुसार, खुला रूपमा सामग्री ओसारपसार गर्ने सवारीसाधनलाई तत्काल कारबाही गर्नुपर्छ। साथै, नियमित अनुगमन र सचेतना कार्यक्रममार्फत समस्या समाधान गर्नुपर्ने आवश्यकता छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय